बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुन सक्छ : प्रधानमन्त्री ओली

मंसिर २४, २०८१

पर्वत पोर्तेल

BRI can be a loan, it can also be a grant: Prime Minister Oli

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बीआरआईबारे यस्तो बताएका हुन् । 

'बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुनसक्छ या संयुक्त लगानी पनि हुनसक्छ,' झापाको बिर्तामोडमा सोमवार एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने,'बीआरआई भनेको के हो ? भन्ने नबुझेर धेरै कराएका छन् ।'  बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ सहकार्य, संयुक्त लगानी पनि हुनसक्ने ओलीको भनाइ थियो ।

ओलीले  ऋण बीआरआई, अनुदान बीआरआई पनि हुन सक्ने र यसका धेरै आयामहरु रहेको तर्क गर्दै थपे,'चीनले आफूले बाहिरका देशलाई दिने सहयोग पनि बीआरआई अन्तर्गत पर्छन् । हामीले आर्थिक विकाससँग सम्बन्धित कुरालाई जोड दिएका छौं ।' अनुदान सहायताकै कुरा गर्न भनेर चीन भ्रमणमा गएको बताउँदै ओलीले थपे,' हाम्रो जस्तो गरिब देशले कुनै देशसँग ऋण लिनै हुँदैन भन्न हुँदैन, प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने हुनसक्छ । देशलाई नोक्सान गर्नेगरी कुनै काम गर्दैन ।'

नेपालले प्राप्त गर्ने चिनियाँ सहयोग वर्षौँदेखि अलमलिएको र यसपटकबाट सम्झौता गरेर सरकारले अगाडि बढाएको ओलीको दाबी थियो ।  'बीआरआईको बारेमा एउटा रूपरेखा सम्झौता गरेका छौं । बीआरआईमा हामीले गरेको सहमति ठफक छ । यो १५३ देशले स्वीकारेको विषय हो । यसले हाम्रो देशलाई लाभ पुग्नेगरी सम्झौता गरेको छौं । कसैले अलमलिनु पर्दैन । हामीले हाम्रो राष्ट्रिय हित छाड्दैनौं ।'

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully