काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायल-प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा 'प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान' उद्घाटन अध्यक्ष भट्टराईले इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको बताएका हुन् ।
'२१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको छ । अस्पतालमा बम वर्षाएको छ । स्कुलमा बम वर्षाएको छ । गाजा क्षेत्रमा त्यहाँका प्यालेस्टिनी नागरिकहरूलाई नरसंहार गरेर त्यो क्षेत्र नै खाली गर्ने ढंगले अघि बढ्ने गरेर गएको छ । यति क्रुर नरसंहार २१औं शताब्दीमा हुनु सबैको निम्ति लज्जाको विषय हो । हामी थोरै भए पनि जिउँदा मान्छे नेपालमा अझै रहेछौँ । हामी सत्य र न्यायको पक्षमा बोल्न डराइरहेका छौं,' भट्टराईले भने ।
अहिलेको इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको भट्टराईको भनाइ छ ।
संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने उनले बताए । 'संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल न्युट्रल बस्यो । हाम्रो सरकारको प्रतिनिधि मौन भएर बसे । हामी सत्य र न्यायको पक्षमा उभिन सक्दैनौँ भने मानव हुनुको के अर्थ हुन्छ, नेपाली हुनुको के अर्थ हुन्छ । त्यसैले म नेपाल सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछु,' उनले भने ।
नेपाल राज्य शान्तिको पक्षमा सधैँ उभिँदै आएको उल्लेख गर्दै भट्टराईले भने, 'हामीले सधैँ प्यालेस्टिनी जनताको मुक्तिको लागि आवाज उठाइरहेका छौँ । जहाँ अहिले इजरायल छ, त्यो वास्तवमा प्यालेस्टाइन हो । प्यालेस्टाइन जनताको आदिभूमि हो । त्यहाँ विभिन्न पुँजीवादी शक्तिका हर्कतहरुले यहुदी राज्य खडा गरियो, अर्काको जमिनमा लगेर इजरायल नाको देश खडा गरेर प्यालेस्टाइनीलाई बेदखाल गर्ने काम गरेका छन् । त्यो अन्यायपूर्ण छ ।
'टु स्टेट सोलुसन' मात्र इजरायल-प्यालेस्टाइन द्वन्द्वको समाधान हुने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए । '... दुई राज्य बनाऔँ, यहुदीका लागि इजरायल र मुस्लिम र आदिवासीका लागि प्यालेस्टाइन भनेर दुई राज्य बनाउने जुन सहमति भएको थियो, त्यसको पालना गर्नुको साटो अब उल्टै प्यालेस्टाइनलाई नै मार्ने प्रयत्न भइरहेको छ, योभन्दा निकृष्ट अपराध अरु केही हुन सक्दैन । त्यसको विरुद्धमा आवाज सुरुवात गरेका छौँ । यसमा दृढतापूर्वक उभिनुपर्छ । सरकार किन बोल्दैन ?,' भट्टराईले प्रश्न गरे ।
इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएको १४ महिनापछि सोमबार (आज) देखि पूर्वप्रधानमन्त्रीसहितका नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
