अमेरिकी सहायक विदेशमन्त्री लूले भेटे कांग्रेस सभापति देउवा

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

US Assistant Secretary of State Lu met with Congress President Deuba

काठमाडौँ — अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवालाई आइतबार दिउँसो भेटेका छन् । नेपाल भ्रमणका क्रममा रहेका लूले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुई मुलुक बीचका बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भारत र श्रीलंका हुँदै तीन दिने नेपाल भ्रमणमा आइतबार उत्रिएका लुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा देउवासँग कुरा गरेको स्वकीय भानु देउवाले बताए । उनले भने,‘उहाँहरूबीचमा नेपाल–अमेरिकाको समग्र पक्षको विषयमा कुराकानी भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय परिवेशलगायत विषयमा पनि छलफल गर्नुभयो,’ स्वकीय देउवाले कान्तिपुरसँग भने ।

देउवापछि लुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली भने दुई दिन पूर्व भ्रमणमै रहने कारणले गर्दा लुले भेटवार्ता गर्ने छैनन् । साथै, सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसाग समेत अन्तरक्रिया गर्नेछन् ।

उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले युवाहरूसँग पनि साक्षात्कार गर्नेछन् । यस अघि पटक–पटक नेपाल आएका लु बाइडेन प्रशासनको अन्त्यतिर दक्षिण एसिया भ्रमणमा आएका हुन् ।

कान्तिपुर

Link copied successfully