प्रधानमन्त्री ओलीले मञ्चबाटै मागे चन्दा

रकम घोषणा गरेर मात्रै हुँदैन, आश्रमको बैंक खाता लिएर जानूस् र त्यहीं जम्मा गर्दिनूस्, आसामी उठाउन आउने फुर्सद आश्रमलाई छैन : प्रधानमन्त्री ओली

मंसिर २३, २०८१

पर्वत पोर्तेल

Prime Minister Oli asked for donations from the stage

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रमको निर्माणाधीन भवनका लागि मञ्चबाटै चन्दा मागेका छन् । आश्रमको शिलान्यासका लागि झापाको बाहुनडाँगी आइपुगेका उनले आइतबार मञ्चबाटै चन्द्रका लागि आह्वान गरेपछि झन्डै एक करोड बढी चन्दा दिने घोषणा भएको छ ।

निर्माणाधिन भवनको शिलान्यास र मानव सेवा आश्रमको १९ औं शाखा उद्घाटनपछि मञ्चमा उक्लिएका प्रधानमन्त्री ओलीले कुनै राजनीतिक भाषण गरेनन् । कुनै दल विशेषप्रति कटाक्ष गरेनन् । बरु आश्रमका लागि चन्दा संकलन गर्न आह्वान गर्नमै समय खर्चिए ।

‘रकम घोषणा गरेर मात्रै हुँदैन, आश्रमको बैंक खाता लिएर जानूस् र त्यहीं जम्मा गर्दिनूस्, आसामी उठाउन आउने फुर्सद आश्रमलाई छैन,’ ओलीले भने । उनले मानव सेवा नै सच्चा सेवा भएको भन्दै मानव सेवाको बानी बसाल्न सबैलाई आह्वान पनि गरेका छन् । सडकमा अलपत्र मान्छेहरूको सेवाका लागि मानव नै अग्रसर हुनुपर्ने बताउँदै उनले देखासिकीवाट सुरु भएको काम देखासिकीमै सीमित हुने र भावनाबाट सुरु भएको कामले मात्रै सफलता पाउने बताए । 

‘आश्रम निर्माणका लागि मैले एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छु,’ ओलीले चन्दा संकलन प्रक्रिया आफैंबाट सुरु गरे, ‘क–कसलाई सेवा गर्न मन छ, हात उठाउनु होला ।’ प्रधानमन्त्रीको आह्वानपछि चन्दादाताहरू अग्रसर बनेका थिए । दाताहरूले १० हजारदेखि १० लाखसम्म चन्दा दिने घोषणा गरेका छन् । चन्दा दिने घोषणा गर्नेमा सबैभन्दा बढी एमालेका जनप्रतिनिधि रहेका छन् । 

धेरैजसो जनप्रतिनिधि एक महिनाको तलब चन्दाका रूपमा दिने घोषणा गरेका छन् । मेचीनगर, अर्जुनधारा लगायतका केही पालिकाले ५ देखि १० लाख रुपैयाँ आश्रमका लागि उपलब्ध गराउने बताएका थिए । स्थानीय व्यवसायी चन्द्रप्रसाद सिटौलाबाट १ लाख, पूर्व प्रदेश सांसद, श्रीप्रसाद मैनालीले ५१ हजार, बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष नीलकण्ठ तिवारीले १ लाख ११ हजार १ सय ११, एमाले नेता भीम खवासले ५१ हजार तथा ओली पत्नी राधिका शाक्यले दुई महिनाको पेन्सनबापतको रकम उपलब्ध गराउने जनाइन् । 

मेचीनगर ४ का स्थानीय रामकुमार प्रधानले आश्रमका लागि एक बिघा ५ कठ्ठा जमीन दान गरेका छन् । त्यही जमीनमा करिव २० करोड हाराहारी लगानीमा अत्याधुनिक आश्रम बन्न लागेको आश्रमका प्रमुख रामजी अधिकारीले जनाए । २०७९ मा स्थापित आश्रम हाल २५ जिल्लामा फैलिएको जनाए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully