राजनीतिक स्थिरताको जगमा अब आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Economic prosperity now on the foundation of political stability: Deputy Prime Minister Singh

झापा — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् । झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्वको जग बसालिएको बताए ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको बताए । उनले जनताको करबाट बनेका ठूला संरचना लामो समय प्रयोगमा नआउँदा बिग्रने भन्दै निर्माण भइसकेका संरचना प्रयोगमा ल्याउनुपर्नेमा पनि बताए ।

धरहरा, दमकको बिजनेस कम्प्लेक्स र बुटवलको सभा हललगायतका विशिष्ट संरचना संचालनका लागि सरकारले विशेष ध्यान दिइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले ती संरचनाले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका थिए । 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको अहिलेको समस्या पार्टी व्यवस्थापन रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । पटक-पटकको आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि कांग्रेस पार्टीलाई ठिक ठाउँमा हिँडाउनुपर्ने उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully