६ जनाको परिवारमा ४ दृष्टिविहीन

७२ वर्षीय गोपी बानियाँ र उनकी जेठी छोरी सुनिता मात्रै आँखा देख्छन्, श्रीमती मालती र तीन सन्तान दृष्टिविहीन छन् ।

मंसिर २३, २०८१

सन्जु पौडेल

4 blind in a family of 6

लुम्बिनी — रूपन्देहीको मायादेवी गाउँपालिका–४ रमवापुरस्थित ६ जनाको परिवारमा चार दृष्टिविहीन छन् । ७२ वर्षीय गोपी बानियाँ र उनकी जेठी छोरी सुनिता मात्रै आँखा देख्छन् । गोपीकी श्रीमती मालती र तीन सन्तान दृष्टिविहीन छन् । जेठी छोरी विवाह भएर गइसकिन् । ७० वर्षीया मालती बेलाबेला बिरामी परिरहन्छिन् ।

गोपी घरघर पुगेर चामल, धान, दाल किन्छन्, बजारमा बिक्री गरेर त्यसैको आम्दानीले परिवारको खर्च चलाउँछन् । ‘मबाहेक काम गर्ने र परिवार धान्ने कोही छैन,’ गोपीले भने, ‘यस्तै भाग्य पाएछु, बालबच्चा र श्रीमतीलाई सकुन्जेल हेर्छु ।’

कलिलैमा विवाह गरेका गोपीको पहिलो श्रीमतीसितको सम्बन्ध २ वर्षभन्दा बढी टिकेन । त्यसपछि उनी भारततिर काम गर्न गए । फर्किएपछि मालतीसँग बिहे गरे । त्यसबेला गोपी २६ वर्षका थिए । ‘आफन्तले कुरा मिलाइदिए । एकअर्कालाई नहेरी विवाह भयो । घर ल्याएपछि मात्रै मालती दृष्टिविहीन भएको थाहा पाएँ,’ गोपीले भने, ‘विवाह गरेर ल्याएकी श्रीमतीलाई छोड्न सकिनँ । अहिले त जीवन चलिरहेकै छ ।’ 

जेठी छोरी सुनिता सकुशल जन्मिएकाले परिवार हर्षित थियो । गोपीकी आमाले सन्तानको स्याहार गर्थिन् । मालती खाना पकाउने, भाँडा माझ्ने, घर सफा गर्थिन् । ‘सासू आमाले सघाइदिएर छोरी हुर्काएँ,’ मालतीले भनिन्, ‘त्यसपछिका सबै सन्तान म जस्तै जन्मिए, ठूली छोरी र छिमेकीको सहारामा अरू सन्तान हुर्काएँ ।’

सानो छँदा अलिअलि देख्ने मालतीले उमेर बढेसँगै दृष्टि गुमेको बताइन् । विवाहपछि गोपीले उनलाई उपचार गराउनसमेत लगे । आँखाको नसा सुकेकाले शल्यक्रिया गरे पनि नदेख्ने जवाफ चिकित्सकबाट पाए । माइली छोरी अनिता २ वर्षदेखि घरमै छिन् । शिक्षा संकायमा स्नातक पूरा गरेकी उनी रोजगारीको खोजीमा छिन् । 

‘देख्ने भएको भए मलाई यति समस्या हुन्नथ्यो होला,’ उनले भनिन्, ‘पढेर पनि केही काम पाउन सकेको छैन ।’ 

अनिता, भाइ जीवन र बहिनी सरिता तिलोत्तमा–५ मा रहेको शान्ति नमुना माविमा पढेका हुन् । एसएलसीपछि एक सामाजिक संस्थाले काठमाडौंमा पढ्न, बस्न सघाउने भएपछि अनिता काठमाडौं गइन् । काठमाडौंमा पढ्दै गर्दा आँखा देख्ने साथीलाई हारगुहार गर्नुपर्ने, कतिपयले परीक्षामा लेखिदिएको पैसा माग्ने, पढेका कुरा सिकाइदिन आलटाल गर्ने जस्ता समस्या उनले भोगिन् । 

काठमाडौंबाट आएपछि फुपूको घरबाट फर्किने क्रममा बाटो काट्दा उनलाई जिपले ठक्कर दियो । ‘२०७१ मा गाडीले ठक्कर दिएपछि खुट्टा भाँचियो, टाउकोमा चोट लाग्यो,’ उनले भनिन्, ‘यहाँ उपचार सम्भव भएन, भरतपुरको लामो बसाइँपछि निको भएँ ।’ त्यो घटनापछि अनिताले बाटो काट्न छोडिन् । ‘अहिले बाटोमा उभिन्छु, उभिएको देखेपछि मानिसले बाटो कटाइदिन्छन्,’ उनले भनिन् । 

उनीसित शिक्षक लाइसेन्स छ । तर, शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण हुन नसकेर जागिरबाट वञ्चित छिन् । ‘बुवा भएकाले सजिलै पढ्न पायौं,’ उनले भनिन्, ‘तर, घरको अवस्था नाजुक छ । चुहिने घरमा बस्छौं, जाडोमा टिन चिसो भएर सताउँछ, आमा बिरामी भइरहनुहुन्छ, बुवाको दुःखमा मल्हम लगाइदिन मन छ, तर केही गर्न सकिएको छैन ।’ सरकारी निकायले अपांगता भएकालाई रोजगारीको अवसर दिए केही राहत हुने उनी बताउँछिन् ।

मिडिया क्षेत्रमा रुचि राख्ने भाइ जीवनले आठ वर्षदेखि काठमाडौंमा बसेर पढाइसँगै टीभी, रेडियो र अनलाइनमा काम गर्दै आएका छन् । यसैबाट बहिनीको पढाइ खर्च र आफ्नो बसाइको खर्च पुर्‍याइरहेको उनले बताए । कान्छी बहिनी सरिता दृष्टिविहीन सँगै सुन्न पनि सक्दिनन् । चार वर्षदेखि काठमाडौंमा बसेर पढिरहेकी उनले शिक्षाशास्त्रमा स्नातक सकेकी छन् ।

होस्टेलमा बसेर पढ्दै आएकी उनी चार वर्षअघिसम्म राम्ररी कान सुन्थिन् । अहिले उनलाई सुन्न समस्या हुन्छ । सरिता हाल कलेज जान नसकेर कोठामै बसेकी छन् ।

‘मलाई सुनाइ र बुझाइ दुवैको समस्या भएकाले आउँदो पुसमा इम्प्लान्ट सर्जरी गर्ने तयारी भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा शिक्षा, उपचार र काठमाडौंको बसाइ खर्च पुर्‍याउन गाह्रो भइरहेको छ,’ सरिताले भनिन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully