पछिल्ला तीन महिनामा मात्र एमाले, माओवादी, एकीकृत समाजवादीका दर्जनौं नेताको चीन भ्रमण
काठमाडौँ — नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको चीन भ्रमण बाक्लिँदै गएको छ । पछिल्ला तीन महिनामा मात्र एमाले, माओवादी, एकीकृत समाजवादीका दर्जनभन्दा बढी नेताले चीन भ्रमण गरिसकेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेकै बेला पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनमै थिए । एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली पनि बिहीबार चीन गएको छ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल सीपीसीले ग्वाङझाओमा आयोजना गरेको ‘चाइना अन्डरस्टान्डिङ’ सेमिनारमा भाग लिन गएका हुन् । उनले त्यहाँ सीपीसीका वरिष्ठ नेतासँग अन्तरक्रिया गर्नुका साथै समाजवादी समाज स्थापना र त्यसको विकासबारे धारणा राखेका थिए ।
‘समाजवादी समाजको सुधार र त्यसले पार्ने प्रभावबारे मैले धारणा राखेँ,’ उनले भने । माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सांघाईमा हुने दक्षिण एसियाको विकाससम्बन्धी सेमिनारलाई सम्बोधन गर्न बुधबार चीनतर्फ उडेका हुन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सीपीसीको निमन्त्रणमा मंसिर पहिलो साता उच्चस्तरीय भ्रमण गरेका थिए । भ्रमणका क्रममा सीपीसी विदेश विभागका निर्देशकसँग एमाले र सीपीसीको आगामी सम्बन्धबारे छलफल भएको उनले बताए ।
पोखरेल नेतृत्वको टोलीमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरख बोगटी, विदेश विभाग सदस्य दीपेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसहित १५ जना थिए । एमालेले चीन भ्रमणमा जाने आफ्नो नेताको टोलीलाई औपचारिक रूपमा बिदाई गर्दै आएको छ । यसले एमालेले नेताहरूको चीन भ्रमणलाई महत्त्वका साथ हेरेको देखिन्छ ।
कोरोना महामारीका बेला करिब दुई वर्ष नेपाली नेताहरूको चीन भ्रमण ठप्प थियो । महामारी मत्थर भएपछि भने यहाँका कम्युनिस्ट नेताहरूबाट एकपछि अर्को भ्रमण भइरहेको छ । सीपीसीले नेपालका कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध राख्दै आएको छ ।
गत पुसमा एमाले र माओवादीको गठबन्धन सरकार बन्दा सीपीसीले स्वागत गरेको थियो । तर त्यो गठबन्धन ६ महिना मात्र टिक्यो । एमाले–माओवादी गठबन्धन सरकार रहँदै गत असारमा सीपीसीको निमन्त्रणामा एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चीनमा १० दिने भ्रमण गरेको थियो ।
भ्रमणमा २९ सदस्यीय टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिफ्रिङ र निर्देशन दिएका थिए । त्यसबेला सीपीसीका नेताहरूले पार्टी मिल्न नसके पनि सरकार बनाएको भन्दै बधाइ दिएका थिए । तर एटोली चीनमै रहेको बेला गठबन्धन टुटेको थियो ।
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका कम्युनिस्ट नेताहरूलाई सधैं एउटै सन्देश दिने गरेको छ– नेपालका कम्युनिस्टहरू मिल्दा राम्रो हुन्छ । सीपीसीका नेताहरूले नेपालका नेताहरूसँग ‘नेपालका कम्युनिस्ट पार्टीहरू किन मिल्न सक्दैनन् ?’ भन्ने जिज्ञासा राख्ने गरेका छन् ।
एकीकृत समाजवादीका वरिष्ठ नेता खनालका अनुसार यसपालिको भ्रमणमा पनि उनीसँग सीपीसीका नेताहरूले नेपालका कम्युनिस्ट पार्टी किन फुट्छन्, किन एकता हुन सक्दैन भन्ने जिज्ञासा राखेका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि नेपालका कम्युनिस्ट मिल्दा राम्रो हुने शुभेच्छा चीनबाट प्रकट भएको बताए ।
आफूले नेपालका कम्युनिस्टबीच रहेको विवादबारे आफ्नो धारणा राखेको बताए । गत असोज अन्तिम साता चीन भ्रमण गरेका माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा नेपालका कम्युनिस्ट पार्टीहरू मिलून् भनेर शुभेच्छा व्यक्त गर्नु स्वाभाविक रहेको बताउँछन् ।
राजनीतिक विश्लेषक एवं चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्के चीनले यहाँका कम्युनिस्ट शक्ति एक ठाउँमा आऊन् भन्ने चाहनुका केही कारण रहेको बताउँछन् ।
‘एउटै कम्युनिस्ट पार्टी भएकाले ठूला अप्ठ्यारा पार गर्दै सीपीसी यहाँ आउन सक्यो भन्ने उनीहरूको बुझाइ छ,’ उनले भने, ‘नेपालको विकास गर्ने हो भने कम्युनिस्ट पार्टी एक हुनुपर्ने शुभेच्छा दिन्छन् ।’ बलियो राजनीतिक शक्ति भएपछि आर्थिक उन्नति गर्न सहज हुने सीपीसीले सुझाव दिने गरेको मास्केले बताए ।
चीनले गैरकम्युनिस्ट पार्टी कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका नेताहरूलाई पनि भ्रमणको निम्तो दिँदै आएको छ । एमाले र माओवादीबीच एकता भएर नेकपा बनेका बेला सीपीसीले अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता ईश्वर पोखरेलसहितका नेताहरूसँग भर्चुअल कार्यशाला नै चलाएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले २०७६ असोज अन्तिम साता नेपाल भ्रमण गरेका बेला नेकपा र सीपीसीका वरिष्ठ नेताबीच सी विचारधारामाथि विमर्श भएको थियो । नेपाली नेताहरूले चीन भ्रमणमा ‘चिनियाँ विशेषताको प्रजातन्त्र’ माथि छलफल गर्ने गरेका छन् ।
