मेयर साम्पाङको धम्कीविरुद्ध सञ्चारकर्मीले गराए गृहमन्त्रीको ध्यानाकर्षण

साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी 

मंसिर २२, २०८१

अर्जुन सुवेदी

The media drew the attention of the Home Minister against Mayor Sampang's threat

सुनसरी — सुनसरीका सञ्चारकर्मीले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो ।

 नगरप्रमुख साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने वातावरण नै नभएको र सञ्चारकर्मी असुरक्षित भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको शाखाका सचिव ध्रुव ढकालले बताए । 

पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष हर्ष सुब्बाले साम्पाङले बारम्बार पत्रकारलाई धम्काउँदासमेत प्रहरी–प्रशासनबाट कुनै कदम नचालिएको भन्दै यसमा गम्भीर हुन गृहमन्त्रीलाई आग्रह गरे । गृहमन्त्री लेखकले लोकतन्त्र र प्रेस एकअर्काका परिपूरक भएको उल्लेख गर्दै प्रेस स्वतन्त्र रहे लोकतन्त्र जीवन्त रहने बताए । 

साम्पाङविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी पनि परेको छ । शाखाका जिल्ला अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । 

बुधबार साम्पाङले सामाजिक सञ्जालमार्फत राई र दाहाललाई धम्की दिएका थिए । उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएकाले उजुरी दिएको अध्यक्ष राईले बताए । 

दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले राई र दाहाललाई सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए ।

अर्जुन

Link copied successfully