दलितलाई कुवा, गैरदलितलाई धारा

दलित र गैरदलितले प्रयोग गर्ने पानी छुट्याउन पर्खालको छेकबार

मंसिर २२, २०८१

अर्जुन शाह

A well for Dalits, a stream for non-Dalits

ओलानी, कैलाली — दशकौं पुरानो जीर्ण अवस्थाको कुवालाई पर्खालले घेरा हालिएको छ । त्यो होचो पर्खालको घेराभन्दा बाहिरपट्टि दक्षिणतर्फ अर्को अग्लो पर्खाल पनि छ, जसले दलित समुदायको कुवा र गैरदलितको धारालाई छेकबारको काम गरेको छ ।

सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका–१० को ओलानीस्थित चाक्लेखोला गाउँमा बसोबास गर्दै आएका दलित समुदायका १० परिवार लागि पानी एक मात्र विकल्प भनेको त्यही पर्खालले घेरिएको पुरानो कुवा हो । 

करिब चार दशकअघि निर्माण गरिएको कुवाको भौतिक अवस्था जीर्ण र दुर्गन्धित छ । कुवालाई छेकबार गर्न बनाएको अग्लो पर्खालभन्दा बाहिर गैरदलित समुदायका दानबहादुर भाटको घर जोडिएको छ । भाटको घरमा पाइपबाट कलकल पानी बग्छ । तर भाट परिवारको धारामा दलित परिवारलाई पानी भर्न अनुमति छैन । 

दलित समुदायले उपभोग गर्ने कुवाको बाहिरी पर्खालसँगै जोडेर भाट परिवारले धान कुट्ने मिल सञ्चालन गरेका छन् । मिलको भुस उडेर कुवाभित्र पस्दा पानी थप फोहोर हुने गरेको छ ।

‘यही कुवाको पानी खाएको ४० वर्ष भयो, फोहोर भए पनि खान बाध्य छौं, अर्को विकल्प छैन्,’ चाक्लेखोलाका भीम ताम्राकारले भने, ‘हामी १० परिवारका लागि मात्र यो कुवा हो । गैरदलितका लागि त ठाउँठाउँमा बोरिङ गरेर घरघरमा धारा जडान गरिएका छन्, तर हामी उनीहरूको धारामा जान पाउँदैनौं ।’

दलित समुदायका स्थानीय धर्म ताम्राकार, चन्द्र ताम्राकार, पवन ताम्राकार, चेत ताम्राकार, धनबहादुर ताम्राकार, रमेश ताम्राकारलगायतका परिवारले कुवाकै पानी खाने गरेको भीमले बताए । 

कुवाको पानी खान बाध्य भइरहेको सुनाउने क्रममा तारा ताम्राकारले भनिन्, ‘मेरो बिहे भएकै सालदेखि अब धारा आउँछ, अब आउँछ भन्ने सुन्न थालेकी हुँ । १० वर्ष बितिसक्यो, कहिले आउँछ थाहा छैन, अब त आशै मरिसक्यो ।’ 

A well for Dalits, a stream for non-Dalits

कुवा छेवैको धान कुटानी मिलको भुस पस्ने गरेको गुनासो पनि उनले ‘डराइ डराइ’ सुनाइन्, ‘मिलबाट भुस उडेर सिधै कुवामा पसेर पानी फोहोर छ ।’ मिल सञ्चालक भाटले धारामा आउन कसैलाई बन्देज नभए पनि निजी भएकाले आफूले मात्र प्रयोग गर्दै आएको बताए । ‘दलित समुदायलाई विभेद गरिएको होइन, उनीहरू धारा नजोडेर कुवाबाटै पानी खाइरहेका छन्, कुवामा भुस जान नदिन मैले नै पर्खाल बनाइदिएको हो ।’ 

चाक्लेखोला बस्तीभन्दा अलि वर थमौरा गाउँ छ । त्यहाँ पनि गैरदलित परिवारका लागि घरघरमा पानीको धारा जोडिएका छन् । तर दलित समुदायका लागि झन्डै ४० वर्ष पुरानो कुवा छ । थमौरा टोलका दलित समुदायका लागि कुवाको पानीबाहेक अर्को विकल्प छैन ।

कुवामा पुग्दै गर्दा अलि परबाट ६० वर्षीया सरस्वती सुनार टाउकोमा बाल्टिन बोकेर पानी भर्न कुवातर्फ आउँदै थिइन् । उनी सरासर आफ्नै सुरमा कुवाभित्रबाट पानी तान्न सहज होस् भनेर बनाएको घिर्नी खिच्न थालिन् । डोरीमा बाँधिएको जर्किन कुवाभित्र डुबाएर पानी खिच्दै गरेकी सरस्वतीले धेरै बेरसम्म बोल्नै चाहिनन् । ‘हामी बालखैदेखि दलित परिवारको पानी खाने यही कुवा हो,’ उनले यति मात्र भनिन्, ‘अरूका घरमा धारा छन् । हामीलाई यही कुवाको पानी ।’ 

कुवाको केही पर घर भएकी जल्धरा विकले गैरदलितका घरघरमा धारा भए पनि आफूहरूले कुवाको पानी खानु परेको भन्दै आक्रोश पोखिन् । ‘थमौराका हामी ११ दलित परिवार मात्र कुवाको पानी खान बाध्य छौं । त्यस्तै ३५/४० वर्षजति भयो होला यो कुवा बनेको, अहिले पनि हामीलाई यही कुवाकै भर हो,’ उनले भनिन् ।

A well for Dalits, a stream for non-Dalits

गोदावरी–१० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले वडामा सात वर्षको अवधिमा दुई सयभन्दा धेरै बोरिङ गाडेर वडावासीलाई खानेपानी उपलब्ध गराइएको बताए । ‘१८० बोरिङको सम्पूर्ण खर्च पालिकाबाटै बेहोरेका हौं । २० वटा बोरिङमा समुदायको एक लाख र पालिकाको एक लाख गरी आधा/आधा साझेदारीमा बनाएका छौं,’ उनले भने, ‘दलित समुदायका परिवारले आफ्नै कारणले धारा नजोडेका हुन् । हाम्रो केही गल्ती छैन । उनीहरू बोरिङ र धारा जोड्न गर्न तयार नै भएनन् ।’ 

थमौरा र चाक्लेखोलामा पानी पिउनका लागि समेत जातीय विभेद रहेको मानव अधिकारकर्मी खडकराज जोशीले बताए । ‘अहिलेको समयमा पनि दलित र गैरदलितको बेग्लाबेग्लै खानेपानी हुनु आफैंमा अचम्म हो, दलितका लागि कुवा तर गैरदलितका घरघरमा स्वच्छ खानेपानीका धारा छन्,’ इन्सेकका सुदूरपश्चिम संयोजकसमेत रहेका जोशीले भने, ‘प्रदेशको राजधानीकै बस्तीमा त यस्तो छ भने दूरदराजको अवस्था झन् कस्तो होला ?’ 

राष्ट्रिय जनगणना ०७८ को तथ्यांकअनुसार सुदूरपश्चिममा ६ लाख ६६ हजार ८ सय ४१ मध्ये ३ हजार ३ सय ८२ घरधुरी ढाकिएको इनार/कुवा र ७ हजार ९ सय १६ खुला अवस्थामा रहेका कुवा र इनारको पानी खान बाध्य छन् । सुदूरपश्चिममा खोला/झर्नाको पानी खाने घरधुरी ५ हजार ६ सय ११ छन् । कैलालीमा १ हजार ३ सय ५ घरधुरीले खुला इनार तथा कुवाको पानी खाइरहेका छन् । 

२०२३ तिर सुदूरपश्चिम पहाडका डोटी, डडेलधुरा, बाजुरा, बझाङलगायत जिल्लामा भोकमरी भएपछि विभिन्न ठाउँका बासिन्दा बसाइँ सर्दै तराई झर्ने क्रममा ओलानी पुगेको पाकाहरू बताउँछन् । चुरेको फेदीमा रहेको ओलानीको वल्लो छेउमा मछली खोला र पल्लो छेउमा धर्मगंगा खोला छ ।

A well for Dalits, a stream for non-Dalits

गाउँको दुवैतिर कलकल बग्ने खोला छ, चारैतिर जंगल भएकाले सहजता देखेर त्यसबेला पहाडबाट झरेकाहरूको रोजाइमा ओलानी परेको स्थानीय धनबहादुर बडैला बताउँछन् । तर अहिले ओलानीको परिचय उहिलेजस्तो छैन । हाल गोदावरी नगरपालिका–१०, ११ र १२ मा पर्ने ओलानी रोग, भोक र अभावको पर्याय बनेको छ ।

पछिल्ला वर्षमा फैलने क्रम घटेको भए पनि एक दशकअघिसम्म कैलालीमा सबैभन्दा धेरै एचआईभी संक्रमित रहेको ठाउँ हो ओलानी । खाद्यान्न अभाव त अहिले पनि उस्तै छ । ‘मेरै वडामा पनि एचआईभी संक्रमणको बढ्दो क्रम पछिल्ला वर्षमा केही रोकिए पनि अहिले वडाभरि ४५ जना खुलेर नियमित औषधि सेवन गर्छन्,’ गोदावरी–१० का वडाध्यक्ष शाही भन्छन्, ‘जातीय विभेद अचेल कम भइरहे पनि विभेदरहित हुन सकेको छैन ।’

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully