कोरोना महामारीपछि करिब दुई वर्ष ठप्प रहेको चीन भ्रमण पछिल्लो समय नेपालका कम्युनिस्ट नेताका लागि ‘पानीपँधेरो’ जस्तो भएको छ ।
काठमाडौँ — नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको तारन्तार चीन भ्रमण हुँदै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमै रहेको बेला पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी वरिष्ठ नेता झलनाथ खनाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनमै थिए ।
श्रेष्ठ निस्केको अर्को दिन बिहीबार एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली चीन गएको छ । कोरोना महामारीपछि करिब दुई वर्ष ठप्प रहेको चीन भ्रमण पछिल्लो समय नेपालका कम्युनिस्ट नेताका लागि ‘पानीपँधेरो’ जस्तो भएको छ ।
नेपाली कम्युनिस्ट नेताहरू चीन किन जान्छन् ? उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सन्देश दिन्छ ? नेपाली कम्युनिस्ट नेताले चीन भ्रमणका क्रममा पाउने एउटै सन्देश हो, ‘नेपालका कम्युनिस्टहरू मिल्दा राम्रो हुन्छ ।’
तर चीनबाट फर्केलगत्तै उनीहरू सबैभन्दा बढी अर्को कम्युनिस्ट पार्टीको आलोचना गर्छन् । पछिल्लो तीन महिनामा समय एमाले, माओवादी, एकीकृत समाजवादीका दर्जनभन्दा बढी नेताले चीन भ्रमण गरे । उनीहरूलाई सीपीसी अन्तर्राष्ट्रिय विभागका वरिष्ठ नेताहरूले एउट जिज्ञासा सधैँ राख्दै आएका छन्, नेपालका कम्युनिस्ट पार्टीहरू किन मिल्न सक्दैनन् ?
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका कम्युनिस्ट पार्टीलाई भाइचारा सम्बन्ध राख्दै आएको छ । नेपालका कम्युनिस्ट पार्टी नौ चिरामा विभाजन भए पनि सीपीसीले नजिकको शक्तिका रूपमा हेर्दै आएको छ । सीपीसीले नेपालका कम्युनिस्ट शक्ति एक हुनुपर्ने सुझावलाई नेपाली नेताहरुले कार्यान्वयन गर्न असफल हुँदै आएका छन् । कम्युनिस्ट नेताहरूको निजी स्वार्थका कारण करिब एउटै विचार भए पनि मिल्नुभन्दा बढी विभाजन हुँदै आएका छन् ।
गत पुसमा एमाले र माओवादी गठबन्धन सरकार बनेको बेला सीपीसीले स्वागत गरेको थियो । तर त्यो गठबन्धन ६ महिना मात्र टिक्यो । त्यसपछि पनि नेपालका कम्युनिस्ट नेताहरूको उच्चस्तरीय भ्रमण हुनेक्रम जारी छ । एमाले पोलिटब्युरो सदस्य भट्टराईको ११ सदसीय टोलीलाई महासचिव शंकर पोखरलले केन्द्रीय कार्यालयमा बिदाइ गरे । एमालेले चीन भ्रमण जाने टोलीलाई औपचारिक रूपमा बिदाइ गर्दै आएको छ । यसले एमालेले नेताहरूको चीन भ्रमणलाई महत्त्वका साथ हेरेको देखिन्छ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सीपीसीले ग्वाङझाओमा आयोजना गरेको ‘चाइना अन्डरस्टान्डिङ’ सेमिनारमा भाग लिन चीनमा छन् । उनले वक्ताका रूपमा समाजवादी समाज स्थापना र त्यसको विकासबारे धारणा राखेको टेलिफोनमा जानकारी दिए । ‘समाजवादी समाजको सुधार र त्यसले पार्ने प्रभावबारे मैले धारणा राखेँ,’ उनले सीपीसीका वरिष्ठ नेतासँग अन्तरक्रिया भएको जनाए, ‘साइडलाइनमा नेपालका कम्युनिस्ट किन फुट्छन्, किन एकता हुन सक्दैन भन्ने जिज्ञासा थियो । हामीले सही नीति लिएर क्रान्ति र विकास सम्भव भयो । तपाईंको देशमा किन मिल्न सक्नु हुँदैन ? भन्ने चासो रहेछ ।’
समिटमा सीपीसीका संगठन विभाग प्रमुख, स्कुल विभाग प्रमुख, मोर्चा विभाग प्रमुखलगायत नेताहरू सहभागी रहेको उनले बताए । उनी मंसिर १५ मा चीन भ्रमणमा गएका थिए । यही बुधबार माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ दक्षिण एसियाको विकाससम्बन्धी सेमिनारलाई सम्बोधन गर्न बुधबार चीनतर्फ उडे । सांघाईमा हुने दक्षिण एसियाको विकाससम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन गएको निजी सचिवालयले जनाएको छ ।
मंसिर पहिलो साता सीपीसीको निमन्त्रणामा उच्चस्तरीय भ्रमण गरेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भाइचारा सम्बन्धलाई अझ बलियो बनाउने मुख्य उद्देश्य भएको बताए । सीपीसी विदेश विभागका निर्देशकसँग एमाले र सीपीसीको आगामी सम्बन्धबारे राम्रो छलफल भएको बताए । ‘दुई पार्टी सम्बन्धबारे सीपीसी विदेश विभाग डाइरेक्टरसँग गम्भीर कुराकानी भएको थियो । सीपीसी पार्टी स्कुल उपप्रमुखसँग पार्टी प्रशिक्षण, पाठ्यक्रमलगायतमा विषयमा अनुभव आदानप्रदान भयो,’ उनले नेपालका कम्युनिस्ट मिल्दा राम्रो हुने शुभेच्छा प्रकट गर्दै आएको आफूले अनुभव गरेको बताए, ‘नेपाल कम्युनिस्ट ठाउँमा आए राम्रो भन्नु ठकै हो । यो सीपीसीको वेल विस हो । सीपीसीका नेताहरूले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो विशेषता छ, त्यही अनुसार काम गर्नुपर्ने सुझाव पाउँछौ ।’
उनले नेपालका कम्युनिस्टबीच विवादका विषयमा आफ्ना धारणा प्रस्टसँग राखेको बताए । ‘नेपालका कम्युनिस्ट पार्टी कि मिल्न सक्दैनन् भन्नेबारे हामीले प्रस्टसँग बुझाउने काम भयो’ उनले भने, ‘विगतमा कम्युनिस्टबीच एकताको प्रयास पनि भयो तर सफल हुन सकेको छैन ।’ सीपीसीको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरख बोगटी, विदेश विभाग सदस्य दीपेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसहित १५ जनाको टोली थियो ।
एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि सीपीसीले अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता ईश्वर पोखरेलसहित नेताहरूसँग भर्चुअल कार्यशाला नै चलाएको थियो । तत्कालीन नेकपाको केन्द्रीय कार्यालय धुम्वाराहीमा भएको कार्यशालाको आयोजना पोखरेलले गरेका थिए । २०७६ असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला नेकपा र सीपीसीका वरिष्ठ नेता सहभागितामा सी विचारधारामाथि विचार विमर्श नै भएको थियो । नेपाली कम्युनिस्ट नेताहरू चीन भ्रमणमा पनि ‘चिनियाँ विशेषताको प्रजातन्त्र’ माथि छलफल हुँदै आएको छ ।
एमाले माओवादी गठबन्धन सरकार रहँदै गत असारमा सीपीसीको निमन्त्रणामा एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा १० दिने औपचारिक भ्रमणमा गएको थियो । भ्रमणमा २९ सदस्यीय टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिफ्रिङ र निर्देशन दिएका थिए । त्यसबेला सीपीसीका नेताहरुले पार्टी मिल्न नसके पनि सरकार बनाएको बधाई दिएका थिए । एमाले टोली चीन भ्रमणमै रहेको बेला गठबन्धन टुटेको थियो ।
नेपालको दोस्रो ठूलो कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेताहरूको पनि निरन्तर उच्चस्तरीय भ्रमण हुँदै आएको छ । बुधबार मात्र चीन भ्रमणमा गएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीपीसीका वरिष्ठ नेतासँग औपचारिक र अनौपचारिक छलफल गर्ने तालिका छ । अर्का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले असोज अन्तिम साता चीन भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेका थिए । सीपीसीसँग लामो समयदेखि भाइचारा सम्बन्ध भएकाले निरन्तर भ्रमण हुँदै आएको बताए ।
‘सीपीसीले स्वाभाविक रूपमा भाइचारा सम्बन्ध राख्न चाहन्छ । त्यहीअनुसार पार्टीगत सम्बन्ध हुँदै आएको छ,’ उनले भने, ‘सीपीसीले अझै पनि कम्युनिस्टप्रति सद्भाव राखेकाले कम्युनिस्ट मिलून् शुभेच्छा व्यक्त गर्नु स्वभाविक हो,’ उनले भनाइ छ, ‘नेपालका कम्युनिस्ट मिल्दा सबभन्दा ठूलो राजनीति शक्ति बन्ने भएकाले मिल्दा राम्रो हुन्छ भन्ने सुझाव आउँछ ।’
राजनीतिक विश्लेषक एवं चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केले चीनले नेपालमा राजनीतिक स्थायित्वका लागि कम्युनिस्ट शक्ति मिल्दा राम्रो हुने धारणा राख्दै आएको छ ।
चीन सरकारको आँखाबाट हेर्ने हो भने राम्रो सम्बन्ध राख्नु हितकर छ । सीपीसीको तर्फबाट कम्युनिस्ट पार्टीहरुलाई हुन्छ । ‘चीन कम्युनिस्ट शक्ति एक ठाउँमा आउन् भन्ने चाहनुका केही कारण छन् । सीपीसीले आफू एउटै कम्युनिस्ट पार्टी भएको हुनाले ठूला अप्ठ्यारा पार गर्दै यहाँ आउन सक्यौँ भन्ने बुझाइ छ,’ उनले भने, ‘नेपालको विकास गर्ने हो भने कम्युनिस्ट पार्टी एक हुनुपर्ने शुभेच्छा दिन्छन् । कम्युनिस्ट एक ठाउँमा आउँदा राजनीतिक स्थायित्व हुने र सम्बन्ध पनि बलियो हुने विश्वास छ ।’ उनले सीपीसीले ‘बलियो राजनीतिक शक्ति भएपछि आर्थिक उन्नति गर्न सहज हुने’ भएकाले त्यसरी अघि बढ्न सुझाउने बताए । चीनले कम्युनिस्ट पार्टीबाहेक कांग्रेस र नयाँ शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतलगायतका नेताहरूलाई निम्दा दिँदै आएको बताए । ‘नेपालमा धेरै कम्युनिस्ट पार्टी छन्, त्यसकारण पनि भ्रमण धेरै देखिन्छ तर अन्य दलका नेता पनि चीन भ्रमणमा गइरहेकै छन् ।’
कुन कम्युनिस्ट नेता कहिले गए चीन ?
