पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

The candidacy of five people for the president of the Federation of Journalists, claims can be protested until 11:00 on Saturday

काठमाडौँ — नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभासप्रसाद साहको उम्मेदवारी परेको छ । 

महासंघको महासचिवमा रामप्रसाद दाहाल, प्रकाश थापा, लेखनाथ न्यौपाने र जन्मदेव जैसी गरी चार जनाको उम्मेदवारी परेको छ । यसैगरी खुला सचिवमा सात, महिला सचिवमा तीन, आदिवासी जनजाति सचिवमा तीन, मधेसी सचिवमा तीन, दलित सचिवमा चार, एशोसियट सचिवमा तीन र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले बताए ।

उम्मेदवारका बारेमा शनिबार बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ । महासंघको निर्वाचन मंसिर २८ गते हुँदैछ ।

कान्तिपुर

Link copied successfully