नेपाल तीव्र सहरीकरणको प्रक्रियाबाट गुज्रिइरहेको छ : उपप्रधानमन्त्री सिंह

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Nepal is going through a process of rapid urbanization: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’ को बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले नेपाल अहिले तीव्र सहरीकरणबाट गुज्रिइरहेको बताए । उनले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याएका थिए । 

नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पत्ति भएको पनि उपप्रधानमन्त्री सिंहले बताए । 

पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनामा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको पनि सिंहले बताए ।

विनाशकारी प्रभाव बढिरहेको उल्लेख गर्दै सहरहरू र समुदायको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरूको  खोजी आजको चुनौती रहेको रहेको सिंहको भनाइ थियो । 'नेपाली पहिचानको धरोहरको रुपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता महसुस गरेको छु,' सिंहले भने, 'नेपाल अहिले तीव्रतर सहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । गाउँबाट मानिसहरू अवसरको खोजीमा सहरमा बसाइँसराई गर्ने प्रवृत्ति बढ्दो छ । विश्व परिवेशलाई हेर्दा सहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ ।’ 

उपप्रधानमन्त्री सिंहले योजनाबद्ध सहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भीर आर्थिक, सामाजिक र वातावरणीय असर देखापर्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully