विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी शाखाबाट ७ करोड रुपैयाँबराबरको सामान हरायो

मंसिर २०, २०८१

प्रताप विष्ट

Goods worth Rs. 7 crore were lost from the central office branch of the Electricity Authority

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–५ भैरव रोडमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी शाखाबाट करिब ७ करोड रुपैयाँबराबरको सामान हराएको छ । बुझबुझारथका क्रममा सामान हराएको थाहा भएको हो ।

हेटौंडाको जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको  घटना सार्वजनिक भएको हो ।

एक दशकभन्दा लामो समय कार्कीले जिन्सी शाखाको प्रमुख भएर काम गरे । जिन्सी शाखाबाट उनलाई हटाएर रमेश पराजुलीलाई प्रमुख बनाएपछि सामान बुझबुझारथ गर्ने क्रममा अभिलेखमा सामान देखिने तर  यथार्थमा सामान नभेटिएपछि १८ महिनाअघि नेपाल विद्युत् प्राधिकरणले छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिसमक्ष तत्कालीन प्रमुख कार्कीले ‘सामान अन्यत्र क्षेत्रमा पठाएको तर त्यसको कागजपत्र नआएकाले हराएको देखिएको’ भनेर दाबी गरे ।

‘कागजपत्र र सामान सहीसलामत देखाउँछु’ भनेर थप समय माग गरे । छानबिन समितिले समय दियो तर कार्कीले सामान देखाउन सकेनन्  । उक्त समितिले प्राधिकरणलाई ठोस सुझाव दिन नसकेका कारणले विद्युत् प्राधिकरणले वाग्मती प्रदेश विद्युत् प्राधिकरण कार्यालय प्रमुख नवराज ओझा संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्‍यो । 

उक्त समितिले स्थलगत अध्ययन अनुसन्धानको साथै बुद्धकुमार कार्कीसँग बयान लिएर २ साताअघि प्राधिकरणलाई प्रतिवेदन वुझाएको छ । उक्त प्रतिवेदनमा दुई किसिमका इन्सुलेटर, पीसीभी केबललगायतका ७ करोड रुपैयाँबराबरको सामान हराएको छ । उक्त सामान वा त्यो बराबरको मूल्य तत्कालीन जिन्सी शाखाका  प्रम्खु कार्कीबाट असुल उपर गराउन समितिले प्राधिकरणलाई  रायसहित प्रतिवेदन बुझाएको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापर्बाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीय स्तरमा छानबिन समिति गठन गरेको हो  ।

तत्कालीन जिन्सी शाखाका प्रमुख कार्की अहिले पनि हेटौंडास्थित जिन्सी शाखामा कर्मचारीका रूपमा कार्यरत छन् । उनी गत जेठ महिनादेखि कार्यालयमा नियमित ढंगले उपस्थित हुने गरेका छैनन् ।   २ वर्षको बीचमा २ पटक जिन्सी शाखामा आगलागी भएको छ । तर आगलागीमा के कति क्षति भो त्यो भने सार्वजनिक गरिएन ।  छानबिन समितिले सात करोड रुपैयाँबराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जितेन्द्रकुमार झाले बताए  ।

प्रताप

Link copied successfully