धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्क्याएकोमा महासंघको ध्यानाकर्षण

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Dharan's mayor Hark Sampang's threat to the journalists drew the attention of the federation

काठमाडौँ — नेपाल पत्रकार महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । 

खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङबारे लेखेको समाचार प्रकाशित भएपछि प्रमुख साम्पाङले समाजिक सञ्जालमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’ भनेर सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेखेका थिए । 

महासंघका महासचिव रोसन पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान रहँदारहँदै मेयर राईले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको बताएका छन् ।

महासचिव पुरीले भनेका छन्, '...सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।साम्पाङको यो अराजक र अशोभनीय हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully