'गृहमन्त्रीको पीए हुँ' भन्दै ठग्ने पक्राउ

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Arrested for cheating by saying 'I am Home Minister's PA'

काठमाडौँ — गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने  व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । नक्कली पीए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो । नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully