चितवनमा सहकारी पीडितको प्रदर्शन

मंसिर १९, २०८१

रमेशकुमार पौडेल

Demonstration of cooperative victims in Chitwan

चितवन — चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता पीडितले प्रदर्शन गरिरहेका छन् । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय चितवनमा बयान भइरहेका बेला पीडितले प्रदर्शन गरेका हुन् । 

पीडितहरूले सहकारीमा बचत गरेको रकम फिर्ता गर्नका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन् । त्यस्तै, 'गोर्खा मिडियामा गएको ६५ करोड फिर्ता गर' लेखिएको ब्यानरमा जीबी राई, रवि लामिछानेलगायतको तस्बिर राखेर प्रदर्शन गरिरहेका छन् । 

पीडितहरूले जीबी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन बाहिर लामिछानेको समर्थनमा विरोध प्रदर्शन भइरहेको बेला पीडितले पनि प्रदर्शन गरेका हुन् । पीडितहरूले सहकारी बचत अपचलनमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् ।  

पीडितहरूले तत्काल न्यायिक प्राधिकरण गठन गरी सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता गर्न माग गरेका हुन । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully