कांग्रेस र एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : पुन 

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Propaganda that Maoist survived with Congress and UML dismissed: Re

रोल्पा — स्थानीय तह उपनिर्वाचनले माओवादी केन्द्रको पक्षमा जनमत बढेको पुष्टि भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् । कहिले कांग्रेस त कहिले एमालेको साथले माओवादी केन्द्र टिकेको भन्ने प्रचार पनि खारेज भएको पुनको भनाइ छ ।

रोल्पामा मंगलबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रूपमा माओवादीलाई जनताले अनुमोदन गरेको बताए । कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको अफवाहलाई जनताले खारेज गरेको पनि उनको भनाइ थियो । ‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो,' उनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’

पछिल्ला केही निर्वाचनमा तालमेलमार्फत कांग्रेस र एमालेले माओवादीको मत लिएको तर माओवादीलाई मत नदिएको कुरा पनि स्थानीय तह उपनिर्वाचनले देखाएको पुनको भनाइ थियो । कांग्रेस र एमालेको जनमत घटेको र माओवादीको जनमत बढेको पनि पुनले दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा माओवादी दोस्रो भएकाले पनि माओवादीको जनमत बढेको उनको भनाइ थियो । 

निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुईदलीय व्यवस्थामा लैजाने र पालैलापो जनतालाई शासन गर्ने कांग्रेस र एमालेको महत्त्वाकांक्षामा धक्का लागेको पनि पुनले बताए । उनले भने, ‘अब त्यो सम्भव छैन, दुईदलीय नभई बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरूले सक्नुहुन्न ।’

अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण जनताको माओवादीप्रति आकर्षण बढेको पनि पुनले बताए । 

माओवादीको ध्यान सरकार गठनमा नरहेको बताउँदै पुनले २०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस र एमालेलाई आग्रह गरे । एमाले र कांग्रेसका नेताहरूले आफ्नो महत्त्व बढाउन अहिले माओवादी पार्टी सरकार ढाल्ने खेलमा लागेको टिप्पणी गरेको पुनको भनाइ थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully