चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन प्रहरीले पूर्व गृहमन्त्री तथा चितवन–२ का सांसदसमेत रहेका राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का केन्द्रीय अध्यक्ष रवि लामिछानलाई आज मंगलबार चितवन ल्याएको छ ।
भरतपुर एयरपोर्टबाट लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पुर्याइसकिएको चितवन प्रहरीले जनाएको छ । कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको लामिछानेमाथि अन्य सहकारी रकम दुरुपयोगका बारेमा अनुसन्धान भइरहेको कास्कीसहित रुपन्देही र काठमाडौंमा बयान लिने कार्य भइरहेको छ ।
चितवन प्रहरीले आइतबार मात्रै पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) छविलाल जोशी र अर्का आरोपित रामबहादुर खनाललाई भरतपुर ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिइरहेको छ । जोशी र खनाल पनि कास्की प्रहरीको हिरासतमा थिए । साहारा चितवन बहुद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताहरूले गोरखा मिडियालगायत चितवन साहाराका संस्थापक गितेन्द्रबहादूर (जिबी) राईका विभिन्न कम्पनीहरूमा नियम विपरीत सहकारीको बचत रकम लगानी भएको भन्दै उजुरी दिएका छन् ।
रवि लामिछाने गोरखा मिडियाका तत्कालीन सेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक तथा छविलाल जोशी गोरखा मिडियाका तत्कालिन सेयरधनी तथा सञ्चालक हुन् । गोरखा मिडिया नेटवर्कमा नियम विपरीत साहारा चितवनको १० करोड ८० लाख रुपैयाँ लगानी भएको बचतकर्ताहरूले उजुरीमा उल्लेख गरेका छन् । रामबहादुर खनाल जिबी राईको अर्को कम्पनी नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सेयरधनी तथा सञ्चालक हुन् ।
नेचर हर्बस इन्टरनेशनल प्रालिमा साहरा चितवनको नौ करोड ७३ लाख रुपैयाँ लगानी भएको उजुरीमा उल्लेख छ । साहारा चितवनका बचतकर्ताहरूले गत वर्ष २०८० को असोज नौ गते चितवन प्रहरीमा अनुसन्धान र कारबाहीको लागि उजुरी दिएको थिए । तर अनुसन्धान खासै अगाडि बढेको थिएन । मुद्दा दायर गर्नु पर्ने हद म्याद नजिक आएपछि चितवन प्रहरीले गत असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको थियो । जसमा रवि र छविको नाम थिएन ।
मुद्दा दायर भएकै दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले सहकारीको रकम गएको देखिएको गोरखा मिडियाको थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । साहारा चितवनका २४ जना बचतकर्ताहरूले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै मंसिर ५ गते बुधबार रवि लामिछाने र छविलाल जोशीसहित १० विरुद्ध पुरक उजुरी दिएका थिए् । उनीहरू विरुद्ध मंसिर ७ मा पक्राउ पुर्जी जारी भएको थियो ।
गत असोजमा मुद्दा दायर हुँदा जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट रकम गएको भनिएको गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबरको कारोबार के केसरी, को कोसँग भएको हो, विवरण प्राप्त भएको नदेखिएको हुँदा सो सम्बन्धमा कानुन बमोजिम थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
प्रहरीमा उजुरी दिएका ४४६ जनापीडित बचतकर्ताहरूको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनु पर्ने देखिएको गत असोजमा दायर भएको अभियोगपत्रमा उल्लेख छ । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ बचत जम्मा भएको चितवन प्रहरीको अनुसन्धानले देखाएको थियो । बचतकर्ताहरू ६ हजार ३३४ जना रहेका छन् ।
यो मुद्दामा हालसम्म चितवन प्रहरीले आफ्नै सक्रियतामा कसैलाई समाएको छैन । यसअघि कास्की प्रहरीले नै नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई पनि चितवन प्रहरीले गएको भदौमा भरतपुर ल्याएर बयान लिएको थियो । यो प्रकरणमा मुख्य अभियुक्त मानिएका जिबी राई देश छाडेर विदेश पलायन भएका छन् । उनी विरुद्ध रेडकर्नर नोटिससमेत जारी भएको छ ।
