उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान

आइतबार राति ११ बजेसम्म मत परिणाम आएकामध्ये ६ वडाध्यक्षमा कांग्रेस, ३ मा एमाले र १–१ मा माओवादी र नेमकिपा उम्मेदवार निर्वाचित

मंसिर १७, २०८१

कान्तिपुर टिम

Around 62 percent turnout in the by-elections

काठमाडौँ — स्थानीय तहमा रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान भएको हो । 

आइतबार साँझदेखि नै अधिकांश स्थानमा मतगणना सुरु भएको आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् ।

आइतबार राति ११ बजेसम्म मत परिणाम आएकामध्ये ६ वडाध्यक्षमा कांग्रेस, ३ मा एमाले र १–१ मा माओवादी र नेमकिपा उम्मेदवार निर्वाचित भएका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर निर्वाचित भएका छन् । 

कुँवरले ३ सय ७६ र निकटतम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३ सय ५८ मत पाए । माओवादीका वीरसिंह कार्कीले ९८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए । १२ सय ७२ मतदाता रहेको वडामा खसेको ८ सय ७७ मतमध्ये २० बदर भएको छ ।

यस्तै, कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादीकी नैनशोभा शाहीलाई २८ मतले पराजित गरे । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् । 

उनले १ सय ४३ मत पाए भने माओवादी नैनशोभाले १ सय १५ मत पाइन् । एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत मात्र पाए । ४ मत बदर भयो । राप्रपा र रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ । 

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका भूपमणि पुन ६ सय ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारबीच ८ मतको अन्तर थियो ।

१९ सय मतदाता रहेको यो वडामा १२ सय ९७ मत खसेको थियो । २०७९ मा कांग्रेसबाट निर्वाचित टंकबहादुर पुनको गत असारमा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा एमालेका गंगाबहादुर तामाङ ३ सय ९९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका घनश्याम दाहालले १ सय ७७ र रास्वपाका विष्णुप्रसाद पोखरेलले १ सय ५१ मत प्राप्त गरेका छन् । माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए ।

रुकुम पश्चिमको सानीभेरी–५ मा कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् । खत्री ५९० मत पाएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५ सय ३७ मत पाए । उक्त वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।

यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । माओवादीका गोरखबहादुर घर्तीलाई पराजित गर्दै उनी वडाध्यक्ष निर्वाचित भएका हुन् । सिंहले ३ सय ४७ मत पाए भने घर्तीले ३ सय ३२ मत पाएका छन् । १ हजार ३ सय २ मतदाता रहेको वडामा ९ सय ५६ मत खसेको थियो । एमालेका गोरखबहादुर नेपालीले २ सय ५२ मत पाए ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा ४ सय ६८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देव थापाले ३ सय १ मत पाए । माओवादीका देवीलाल थापाले २६ र रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाए । 

यस्तै, गोरखा नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् । कांग्रेसका भाइकाजी आलेले ४ सय २, एमालेकी दुर्गामाया थापा रानाले ३ सय ४५ मत र रास्वपाका मंगलबहादुर थापाले ८२ मत ल्याएका छन् । 

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनले ५ सय ७४ मत पाए । कांग्रेसका रेशमबहादुर शाहीले ५ सय ७१, माओवादीका ढकेन्द्रबहादुर शाहीले २ सय ७८, रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक ६ सय २७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका शेख अनवरले ५ सय ७५, एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२, जनमत पार्टीका शेख जमिरुल हकले १ सय ३५ मत पाए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिबुल खाँ ६ सय ३१ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादीकी आइती कुमारी यादवले ५ सय ३४ मत पाइन् ।

उपनिर्वाचनमा २५ राजनीतिक दल दर्ता भएकामा २० वटाबाट उम्मेदवारी परेको थियो । राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचन भएका पालिका तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार ७ सय ९९ मतदाता थिए ।

यसअघि नै रिक्त दुई जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । जिसस ओखलढुंगामा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए । चौधरीले आइतबार पद तथा गोपनीयताको शपथ लिइसकेकी छन् ।

यस्तै, रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

कान्तिपुर टिम

Link copied successfully