राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा बिदाइ तथा स्वागतमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष जान नपर्ने
काठमाडौँ — राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट (भीभीआईपी) विदेश भ्रमण जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने राज्यका उच्च पदस्थ अधिकारीहरूको लर्कोमा अब कमी आउने भएको छ ।
गृह मन्त्रालयले 'अति तथा वशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१' मा संशोधन गरी विशिष्ट र अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमण हुँदा बिदाइ र विदेशबाट फर्किँदा स्वागत गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुने व्यक्तिको संख्यामा कटौती गरेको हो ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अबदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ र स्वागतका लागि जान नपर्ने व्यवस्था गरिएको छ । 'अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थालाई प्रभावकारी, व्यवस्थित र मजबुत बनाउन र अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमणको क्रममा हुने स्वागत तथा बिदाइ कार्यक्रमलाई भीडभाडरहित एवं छरितो बनाई व्यवस्थित गर्न' कार्यविधिमा संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अब राष्ट्रपति विदेश भ्रमणमा जाँदा र विदेश भ्रमणबाट फर्किँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शिष्टाचार महापाल मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।
यसअघि, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सबै मन्त्री, सांसद, सचिवहरू, सुरक्षा निकायका पदाधिकारीहरू लगायतको भीड विमानस्थलमा लाग्ने गरेको थियो ।
त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र स्वदेश फर्किँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुखलाई मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रवेश दिइने उल्लेख छ ।
प्रधानमन्त्री विदेश जाँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।
गृह मन्त्रालयले यो कार्यविधि लागू गरेसँगै अतिविशिष्ट र विशिष्ट व्यक्तिको विदेश भ्रमण हुँदा र स्वदेश फर्किँदा सडकदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सुरक्षा चुनौतीमा कमी आउने बताइएको छ ।
