काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओेलीले बुद्ध जन्मिएकाे स्थानमा ध्यान अनिवार्य भएकाले लुम्बिनीमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिएको बताएका छन् । हल निर्माणपछि अन्तर्राष्ट्रियस्तरका ध्यान र सम्मेलन आयाेजना गर्न सम्भव भएकाे बताए ।
आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला २०७३ सालकाे बुद्ध जयन्तीमा लुम्बिनी आएका बेला हुरीले कार्यक्रम स्थलकाे टेन्ट उडाएकाे सम्झना गर्दै तत्काल ३ हजार जना अट्ने अस्थायी हल निर्माण गरेकाे सम्झना गरे ।
दाेस्राेपटक प्रधानमन्त्री भएका बेला २०७४ सालमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सेमिनार हल निर्माणका लागि बजेट विनियोजन गरेर निर्माण प्रारम्भ गरेकाे उनले सुनाए । 'हललाई ठिक लाेकेसनमा बनाइएकाे छ,'उनले भने, 'जहाँ बुद्धकाे कुरा हुन्छ, त्यहाँ ध्यान हुनैपर्छ । त्यसैले याे हल ठिक छ ।'
लुम्बिनी बाैद्ध विश्वविद्यालयकाे शुक्रबार आयाेजित २० औं वार्षिकोत्सव तथा तेस्राे दीक्षान्त समाराेहमा बाेल्दैओलीले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको केन्द्र भएकाे बताएका छन् । बुद्ध दर्शनको मुहानमा हामी रहेकाले यसकाे विस्तारमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताए । उनले बुद्धका शिक्षा पालनामा जाेड दिए । बुद्ध दर्शनको सारतत्व सत्य भएकाले सत्यकाे पालनामा जाेड दिए । 
समाराेहमा भनाई राख्दै ओलीले सम्पूर्ण दीक्षित विद्यार्थी बुद्ध शिक्षाका अनुयायी र अध्येता भएकाले बुद्वका शील, उपदेशलाई आफ्नोे जीवनमा सबैभन्दा पहिले लागू गर्नुपर्ने बताए । '
कुलपतिकाे हैसियतले विश्व विद्यालयले प्रदान गर्ने उपाधि हस्तान्तरण गर्न पाएकाेमा खुसी लागेकाे उनले बताए । बाैद्ध धर्म प्रचारक धम्मावती गुरुमालाई पहिलाे मानार्थ विद्यावारिधी उपाधि प्रदान गर्न पाउँदा हर्ष लागेकाे बताए । विभिन्न तहमा सर्वाेत्कृट भएर स्वर्णपदक हासिल गर्ने र विश्वविद्यालयका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर बिजयी छात्रछात्रालाई बधाई दिए ।
