कीर्तिपुर उपनिर्वाचनमा प्रमुख दलका शीर्ष नेताको सम्बोधन, कसले के भने ?

कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारको मुख्य प्रतिस्पर्धा

मंसिर १३, २०८१

गंगा बीसी

Address of top leaders of major parties in Kirtipur by-election, who said what?

काठमाडौँ — प्रमुख राजनीतिक दलहरुले मौन अवधि लाग्नुअघि कीर्तिपुरको उपनिर्वाचनमा सभा गरेका छन् । कीर्तिपुरको मेयरमा कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

बुधबार राति १२ बजेदेखि मौन अवधि लाग्ने भएकाले कांग्रेस, एमाले, माओवादीले चुनावीसभा गरी आ-आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यो उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानको रुपमा भएको भन्दै आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

‘यो उपचुनावलाई नेपाली जनता भ्रष्टाचारको पक्षमा कि भ्रष्टाचारविरोधी छन् भन्ने यो सर्वोच्च अदालत हो । नेपाली जनता भ्रष्टाचार विरोधीको पक्षमा छन् । भ्रष्टाचारी र भ्रष्टाचार विराधीको जनमतसंग्रह हो,’ उनले भने, ‘कीर्तिपुर भ्रष्टाचारविरोधी नगर हो । कीर्तिपुरको पहिचान इतिहास, त्याग, बलिदानको प्रतिकको रुपमा चिनिन्छ ।’

उनले कांग्रेस-एमाले गठबन्धन अप्राकृतिक भएको आरोप लगाउँदै सरकारले सुशासनको मुद्दा छाडेको बताए । ‘यो सरकार अप्राकृतिक छ । कुनै पनि लोकतान्त्रिक देशमा पहिलो र दोस्रो पार्टी बनेर सरकार बनाउने चलन छैन । भारतमा बीजेपी र कंग्रेस मिलेर सरकार बनाउँदैनन्,’ उनले भने, ‘भ्रष्टाचारी, विचौलियाको रक्षा गर्नुपर्‍यो भनेर अप्राकृतिक रुपमा जसरी सरकार बन्यो ।’

उनले प्रतिपक्ष दलले संसद्‌बाट खबरदारी गर्ने उल्लेख गर्दै आवश्यक परे आन्दोलनमा जाने चेतावनी दिए । ‘जरुरी पर्‍यो भने एउटा नयाँ आन्दोलनतिर जानेछौं । खबरदारीको सरकारले सुनाइ गरेन भने प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं,’ उनले थपे, ‘त्यहाँबाट आन्दोलन छेडिनेछ । हरेक पालिकाबाट देशव्यापी रुपमा अभियान चलाउन बाध्य हुनेछौं ।’

कीर्तिपुरमा चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले माओवादी अध्यक्ष दाहालले कांग्रेसलाई प्रधानमन्त्रीका लागि खबर पठाइरहे पनि सरकार आगामी निर्वाचनसम्म टिक्ने बताए । ‘न केपी ओली दुश्मन हो, न प्रचण्ड  । हामी यो सरकारलाई तीन वर्ष टिकाएर जान्छौं,’ उनले भने, ‘प्रचण्डले हप्तामा एक पटक बहुमतको प्रधानमन्त्री बन्दिनु पर्‍यो भने खबर पठाउनुहुन्छ । प्रधानमन्त्री बन्ने ताकत नभएर होइन । स्थिर सरकार बनाउन लागेका छौं । देशलाई स्थिर सरकार दिने महत्वपूर्ण कुरा हो ।’

उनले सबै दलले सरकार र र प्रतिपक्षमा भएका बेला राम्रो जति आफूले गरेको भन्ने गरेका, नराम्रो जति अरुले गरेको भन्दै आएको बताए । ‘कांग्रेसले राम्रो गरेको, नगरेको पनि जिम्मा लिन्छ,’ उनले भने, ‘कांग्रेसले पाँच वर्षमा आफूले गरेको काम प्रतिवेदन लिएर जानेछ । हामी काम गरेर परिणाम दिन चाहन्छौं । ’

उनले नेपालीले गौरव गर्न सक्ने नेपाल बनाउन प्रयत्नरत रहेको उल्लेख गर्दै एकजुट भएर लाग्न आग्रह गरे । ‘यो निर्वाचनको धेरै महत्व छ । कीर्तिपुरको उपनिर्वाचनमा राजनीति जोडिएको छ । फेरि एकपटक मौका आएको छ,’ उनले भने ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले देश सम्हालेको उल्लेख गर्दै दुई कम्युनिष्ट पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेकाले यो गठबन्धन बनेको बताए । ‘हरेक पार्टीलाई स्वतन्त्र बनाएको कांग्रेसले हो । नेपालको हरेक पार्टी स्वतन्त्र ढंगले रोज्ने अवस्था कांग्रेसले गरेको हो,’ उनले भने, ‘पुरानाको दिन गए, दलको पद्धतिविरुद्ध जानेमा हामी सहमत छैनौं । यो देश आफैंमा पुरानो हो । त्यसैले भूगोल, दल, नागरिक जन्ममिति पुरानो हुँदैमा फरक पर्दैन । पुरानो भन्दैमा खराब हुँदैन । नयाँ भन्दैमा राम्रा हुँदैन । निर्वाचन आयोगमा नयाँ दर्ता हुँदैमा नयाँ हुँदैन ।’

एमाले चुनावीसभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरलले एमालेले मुलुकमा आशा जगाउने अभियानमा लागेको उल्लेख गर्दै मुलुक समृद्ध बनाउने बताए ।

‘नेपाली सामाजिक न्यायको झन्डा उठाउने एमाले हो । अब विकासको यात्रामा अघि बढ्न चाहन्छौं । हामी जनताको अधिकारलाई सबल बनाउन सरकारको नेतृत्व गरेको छौं । संविधान, कानुनलाई सुधार गरेर आशा जगाउन चाहन्छौं,’ उनले भने, ‘यो देश बनाउने पार्टी एमाले हो । अब निराशाको समय सकियो, आशाको समय सुरु भएको छ ।’

उनले  राष्ट्रिय स्वाधिनताको पक्षमा उभिएकाले एमालेलाई चौतर्फी हमला भइरहेको दाबी गरे । ‘लोकतन्त्र सिंहदबारमा मात्र भएर हुँदैन, घरदैलामा पाउनुपर्छ । स्थानीय सरकारलाई बलियो बनाउने अभियानको नेतृत्व एमालेले गरेको हो,’ उनले भने, ‘विगतको विरासतलाई अघि बढाउन एमाले अघि सरेको छ । अभियानको माध्यमबाट राष्ट्रिय राजनीतिलाई सन्देश दिन खोजेका छौं ।’

कीर्तिपुरमा नगर प्रमुखका लागि २० जनाले उम्मेदवारी दिएका छन्, त्यसमध्ये ११ जना स्वतन्त्र छन् । कांग्रेसले कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धर, माओवादीले शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले यहाँ उम्मेदवारी दिएको छैन । एकीकृत समाजवादीले माओवादीका महर्जनलाई समर्थन गरेको छ ।

गंगा

Link copied successfully