काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला एमाले महासचिव शंकर पोखरेलले छिमेकी मुलुकहरूसँग जोडिएका भूराजनीतिक विषय सम्बन्धित नौ प्रश्न अघि सारेका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीको हुन लागेको चीन भ्रमण र भारततर्फ जेलिइरहेको सम्बन्धकाबारे सार्वजनिक टिकाटिप्पणी भइरहेका बेला महासचिव पोखरेले केही प्रश्नहरू अघि सारेका हुन् ।
उनले सामाजिक सञ्जालमा आफ्ना धारणा अघि सार्दै नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।
पोखरेलका ९ प्रश्न यस्ता छन् :
१. नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?
२.के नेकपा(एमाले)ले स्वाधीनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३.नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि बढाउनु, सुरुङ,रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?
४.नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?
५.नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चिनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?
६.के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?
७. के नेपालले भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ?
८.के नेपालले आफूलाई स्वाधीन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?
महासचिव पोखरेलले यदी यसो गर्नु गलत लाग्छ भने नेकपा(एमाले)को विरोध जायज हुने होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देउ भन्दै अपिल गरेका छन् ।
'काम गर्नेलाई हौसला देउ । कमीकमजोरी भए सुझाव देउ । विकल्प भए विकल्प देउ ।अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौं' महासचिव पोखरेलले भनेका छन् ।
