सात वर्षअघिको बीआरआई सम्झौता अहिलेसम्म गोप्य

दलहरूबीच फरक–फरक बुझाइ र दृष्टिकोण देखिन थालेपछि समझदारीपत्र सार्वजनिक गर्नुपर्ने आवाज उठ्न थालेको छ, यहीबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले दस्ताबेज मागे पनि उपलब्ध गराइएको छैन

मंसिर ६, २०८१

जगदीश्वर पाण्डे

The BRI agreement of seven years ago is still secret

काठमाडौँ — नेपाल र चीनले सन् २०१७ मा हस्ताक्षर गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ समझदारीपत्र अहिलेसम्म गोप्य छ । यसबीचमा नेपालमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा पटक–पटक सरकार बने, तर समझदारीपत्रका विषयवस्तु सार्वजनिक गर्न कसैले प्राथमिकता दिएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संघारमा बीआरआईको विषय चासो र चर्चाको केन्द्रमा छ । भ्रमणका अवसरमा चीनले ‘बीआरआई कार्यान्वयन योजना’ मा हस्ताक्षर गर्न चाहेको छ । तर यस विषयमा सत्तारूढ कांग्रेस र एमालेकै नेताहरूबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । दलहरूबीच फरक–फरक बुझाइ र दृष्टिकोण देखिन थालेपछि सात वर्षअघिको समझदारीपत्र सार्वजनिक गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

बीआरआईसम्बन्धी समझदारीपत्र अहिलेसम्म केही सीमित कर्मचारी र राजनीतिज्ञले मात्र हेर्न पाएका छन् । पूर्वराजदूत जयराज आचार्य बीआरआईसम्बन्धी समझदारीपत्र सार्वजनिक गर्न जरुरी रहेको बताउँछन् । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएका सम्झौताका सबै दस्ताबेज नेपाली र अंग्रेजी भाषामा वेबसाइटमा राखिएको छ,’ उनले भने, ‘तर बीआरआईमा के छ, कसैलाई पनि थाहा छैन । हामीले के आधारमा बीआरआईबारे बोल्ने ?’

एमालेका नेता तथा भूराजनीतिका जानकार राजन भट्टराई दुई मुलुकबीचमा भएका सम्झौता/समझदारीपत्र सार्वजनिक गर्नु नै उपयुक्त हुने बताउँछन् । ‘त्यसलाई गोप्य राखिराख्नुपर्दैन । सम्झौता गरिएका छन् भने सार्वजनिक गर्दा हुन्छ, जहाँ पनि त्यस किसिमको अभ्यास छ । त्यो एक किसिमको कानुन पनि हो । गोप्य राख्नुपर्ने विषय होइन,’ उनले भने, ‘लोकतान्त्रिक सरकारलाई कुनै संसद् वा संसदीय समितिले माग्यो भने उपलब्ध गराउनुपर्ने हुन्छ । कतिपय सम्झौता संसद्को दुई तिहाइले पास गर्नुपर्ने हुन्छ ।’ बीआरआईमा देखिएको फरक बुझाइ र व्याख्यालाई बढाइचढाई गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । 

‘नेपालले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको र त्यसको कार्यान्वयनका विषयमा बुझाइ र व्याख्यामा केही फरकको स्थिति देखिएको हो,’ उनले भने, ‘फरक–फरक व्याख्याहरूले हामी एकै स्थानमा पुग्छौं । हामीले गर्ने विदेश नीतिको व्यवहार सबै मुलुकसँग एउटै किसिमको हुनुपर्छ ।

हामी राष्ट्रियहितलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्छौं ।’

बीआरआई समझदारीपत्रमा हस्ताक्षर हुँदा परराष्ट्रमन्त्री रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महत भन्छन्, ‘यो बीआरआई समझदारीपत्र अरू खालको जस्तो दस्ताबेज होइन । सामान्य खालको समझदारीपत्र हो । म परराष्ट्रमन्त्री हुँदा आफैंले हेरेर ठीक छ भनेपछि हस्ताक्षर भएको हो ।’ समझदारीपत्रमा विवादित केही पनि नरहेको उनले बताए । उनले थपे, ‘सामान्यतया यस्ता दस्ताबेज बाहिर ल्याइँदैन । विवादित भयो भने बाहिर निकाल्न सकिन्छ ।’

पूर्वपरराष्ट्रमन्त्री महतले बीआरआईसम्बन्धी समझदारीपत्रमा कनेक्टिभिटी, सहकार्य, लगानी, प्रशिक्षण गर्ने भन्ने उल्लेख रहेको तर यही नै के गर्ने भनेर केही नतोकिएको उनको भनाइ छ । ‘पहिलेको समझदारीपत्र सैद्धान्तिक मात्र हो । अहिले बीआरआई कार्यान्वयन सम्झौतामा चाहिँ के गर्ने भन्ने सवाल हो, योचाहिँ महत्त्वपूर्ण छ,’ उनले भने ।

बीआरआईसम्बन्धी समझदारीपत्रमा दुई मुलुकबीच हस्ताक्षर हुँदा नेपालमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । अहिले विपक्षमा रहेको माओवादीका नेता राम कार्कीले बीआरआईसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने बेला नै चर्चा–परिचर्चा भएको बताए । ‘त्यसबेलै बीआरआई के हो भनेर अध्ययन भएको छ । हजारौं लेख प्रकाशित भएका छन्,’ उनले भने, ‘यसबीचमा सत्तामा गएका सबै दलले समझदारीपत्रका विषयमा राम्ररी बुझेका छन् । तर हाम्रो प्राथमिकता के भन्ने प्रमुख हो ।’

बीआरआईको समझदारीपत्र सार्वजनिक गर्न संसदीय समितिले पहल नगरेको भने होइन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेपालले बीआरआई समझदारीका विषयमा संसद्भित्र र बाहिरबाट अनभिज्ञता प्रकट भएपछि अध्ययनका लागि सरकारसँग दस्ताबेज मागेको बताए । ‘हामीले गत साउनमा समझदारीपत्रको दस्ताबेज पेस गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार गरेका थियौं । तर उक्त दस्ताबेज आइपुगेको छैन,’ उनले भने, ‘दस्ताबेज नै नहेरीकन बीआरआई के–कस्तो छ र नेपालसँग के गर्न खोजिएको हो भन्नेबारेमा आम जनताले कसरी थाहा पाउने ?’ उनले उक्त दस्ताबेज संसद्मा पठाउने र सार्वजनिक बहसका लागि उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार संसदीय समितिले बीआरआईको दस्ताबेज मागे पनि उच्च राजनीतिक तहबाट संसद्लाई दिने वा नदिने भन्नेबारेमा निर्णय भएको छैन ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य चीनसँग भएको बीआरआई समझदारीपत्र सार्वजनिक गर्ने विषय ठूलो नभएको बताउँछन् । ‘बीआरआईका सन्दर्भमा पहिले भएको सैद्धान्तिक समझदारीपत्रभन्दा अब हुन लागेको बीआरआई कार्यान्वयन योजना सम्झौताचाहिँ बढी पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘चीन र अरू मुलुकसँग भएका सम्झौता के गरिएको छ, मैले हेरेको छैन । तर यस्ता सम्झौता चिनियाँले खुलस्त गरेको जस्तो लाग्दैन । चिनियाँले बोलाउने, सम्झौता गर्ने र त्यसलाई कार्यान्वयन गर्ने हो ।’

चीनले नेपाललाई पठाएको बीआरआई कार्यान्वयन योजना सम्झौताको चार पृष्ठ लामो मस्यौदा पनि अहिलेसम्म सार्वजनिक भएको छैन । राजनीतिक दलहरू भने बीआरआईअन्तर्गत ऋण वा अनुदान लिने वा अन्य कुनै व्यवस्थामा जाने भन्ने बहसमा छन् । कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षरका लागि चीनले लामो समयदेखि नेपाललाई ताकेता गर्दै आएको छ । काठमाडौंमा गत असार ११ मा भएको १६ औं परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा ‘बीआरआई कार्यक्रम कार्यान्वयन योजना’ को उल्झन फुकाउने गृहकार्य गरिएको थियो । तर, आफ्नै पार्टीका नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको परराष्ट्र मन्त्रालयले पठाएको प्रस्तावलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेका थिए । त्यसबेला माओवादी र कांग्रेसको सरकार थियो । त्यतिबेला थप अध्ययन गर्नुपर्ने भन्दै नेपाली पक्षले प्रस्ताव रोकेको परराष्ट्र स्रोतले बतायो ।

त्यसअघि सन् २०२३ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री दाहालको चीन भ्रमणका बेला ‘बीआरआई कार्यक्रम कार्यान्वयन योजना’ लाई टुंगो लगाउने तयारी थियो । तर, तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले उक्त दस्ताबेज तयार गर्न दुई मुलुकका योजना आयोगहरूबीचमा छलफल हुनुपर्ने भनेपछि सम्झौता प्रक्रिया अवरुद्ध भयो । दाहालको भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुई मुलुकले छिट्टै बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने उल्लेख थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अघि सारेको बीआरआईलाई बेइजिङको अन्तर्राष्ट्रिय स्तरको मुख्य सहकार्य र आर्थिक रणनीति मानिन्छ । बीआरआईमार्फत चीनले कनेक्टिभिटी, व्यापार र आर्थिक वृद्धिका क्षेत्रमा काम गर्ने सीको भनाइ छ । बीआरआईअन्तर्गत रहेर चीनले विमानस्थल, बन्दरगाह, पावर प्लान्ट, रेलमार्ग, सडक, पुल र सूचना प्रविधिका क्षेत्रमा काम गर्छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार मुख्यतः दक्षिण, दक्षिणपूर्व र मध्य एसिया, अफ्रिका र मध्यपूर्वका १ सय ३८ देशमा बीआरआई परियोजना अगाडि बढाइएको छ ।

नेपालमा बीआरआईलाई परियोजनाका रूपमा मात्र बुझ्ने गरिएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सन् २०१९ मा चीन भ्रमण गर्दा बीआरआईअन्तर्गत सञ्चालन गर्ने परियोजना भनेर ३५ वटाको सूची बेइजिङलाई बुझाइएको थियो । तर बेइजिङले संख्या घटाएर एक अंकमा कायम गर्न आग्रह गरेपछि ९ परियोजनाको सूची चीन पठाइएको थियो । त्यसपछि कुनै पनि काम भएको छैन ।

श्रीलंकासहित केही मुलुकमा चिनियाँ ऋणले समस्या पारेको आरोप लाग्न थालेपछि नेपालमा पनि बीआरआईलाई लिएर संशय देखिएको छ । संसद्को पहिलो पार्टी कांग्रेसले बीआरआईमार्फत अनुदानमात्र स्वीकार गर्ने निर्णय गरिसकेको छ । गत असार १७ मा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले बीआरआईलाई ‘सहयोग वा अनुदान’ का रूपमा मात्र स्वीकार गर्न सकिने निर्णय गरेको छ । 

‘फ्रेन्ड्स अफ सिल्क रोड नेपाल’ ले गत चैत २ मा आयोजना गरेको ‘बीआरआईको १० वर्ष र नेपालको अनुभव’ कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआई कुनै परियोजनामात्र नभएको उल्लेख गरेका थिए । उनको भनाइ थियो, ‘बीआरआई पूर्ण रूपमा खुला, समावेशी र पारदर्शी छ । यसलाई ऋणको पासो भन्ने गलत भाष्य खडा गर्न खोजिएको छ, जुन गलत हो । बीआरआई सहकार्यका लागि हो । यो कुनै भूराजनीतिक उपकरण होइन ।’

चीन र चिनियाँ राजदूतले बीआरआईका बारेमा त्यसो भनिरहँदा नेपालमा भने चीनसँग बीआरआईमा के समझदारी भयो भन्ने थाहा छैन । बीआरआईको मुख्य दस्ताबेज हेर्न नपाइरहेका बेला चीनले नेपाललाई पछिल्लो समय बीआरआईलाई अघि बढाउनका लागि कार्यक्रम कार्यान्वयन योजनामा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ । त्यसैले समझदारीपत्र सार्वजनिक हुनुपर्ने आवाज उठ्न थालेको हो ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully