नेपालमा मन्त्री हुन कुनै योग्यता चाहिँदैन, नेताले मन पराए भइहाल्यो : मन्त्री गुरुङ

‘हाम्रो समाज नै ढोंगी समाज भयो । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने, भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने'

मंसिर ५, २०८१

कान्तिपुर संवाददाता

Minister Gurung does not need any qualification to be a minister in Nepal, the leader likes it

काठमाडौँ — नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताए । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ थियो ।

काठमाडौंमा बुधबार आयोजित विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा मन्त्री गुरुङले नेपालमा मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानुनी व्यवस्था नरहेको बताएका हुन् । 'हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरू (मतदाता)ले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन,' गुरुङले भने, 'खेलकुदको 'ख' नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन ।'

नेपाली समाज ढोंगी रहेको पनि मन्त्री गुरुङको भनाइ थियो । ‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ,' मन्त्री गुरुङले भने, 'यो ढोंगी चिजहरू नगरौँ भन्ने मान्यता मेरो हो ।'

नेताहरू जता गयो त्यतैको भाषा बोल्ने समस्या रहेको पनि उनको भनाइ थियो । नेपालमा लोकरिझ्याइँको राजनीति फस्टाउँदै गएको उनको भनाइ थियो । 'कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ । मजदुरको बीचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने,' उनले भने, 'लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरू सबै बुझेको छु भन्छ ।'

आफूले सञ्चार क्षेत्र धेरै नबुझे पनि जनताका लागि काम गर्ने र जे हो त्यै बोल्ने मन्त्री गुरुङको दाबी थियो । जनतालाई नढाँट्ने र जति सकिन्छ त्यति मात्रै गर्ने भन्ने व्यक्तिभित्र आफू पर्ने उनले बताए । 

कान्तिपुर

Link copied successfully