एमाले-कांग्रेस गठबन्धन र स्वतन्त्रबाट उम्मेदवार बनेकाले नाम फिर्ता लिए
काठमाडौँ — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमाले-कांग्रेसको सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।
उम्मेदवारको नाम फिर्ता लिने दिन बुधबार बिहान ९ बजेपछि माओवादी केन्द्रबाहेकका उम्मेदवारले नाम फिर्ता लिएका हुन् । यो वडामा माओवादी, एमाले-कांग्रेस गठबन्धन र एक स्वतन्त्रले मनोनयनपत्र दर्ता गराएका थिए । बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने र दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्यसपछि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने स्थानीय तह उपनिर्वाचन कार्यतालिका रहेको छ ।
कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले माओवादी उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको बताए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, 'हामी एउटै घरको नाता पर्ने हो । माओवादी उम्मेदवार काका नाता पर्नुभयो, भेगीय हिसाबमा पनि एउटै पर्नुभयो ।'
उम्मेदवारी फिर्ता लिएपछि पार्टीले कारबाही गर्ला नि ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'पार्टीले के गर्ने भन्ने उसको कुरा हो । गाउँपालिका उपाध्यक्षमा पार्टीकै उम्मेदवार जिताउन लाग्छु । आफ्नो खुसीले उम्मेदवारी फिर्ता लिएको हो, पार्टीले कारबाही गरे स्वीकार्छु ।'
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उपाध्यक्ष उम्मेदवार छन् । कांग्रेसको चुनाव चिह्नमा उम्मेदवार बनेकी तुलाचन एमालेको महिला संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् ।
वडा अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका रोकाले गठबन्धन गर्दा पार्टी नेता उम्मेदवार बनेपछि चुनाव चिह्न गुमाएको बताए ।
