सुशासन र शान्ति सुरक्षा सरकारको प्रमुख प्राथमिकता : गृहमन्त्री लेखक

मंसिर ५, २०८१

भवानी भट्ट

Good governance and peace and security are the main priorities of the government: Home Minister Author

कञ्चनपुर — गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार दुई/चार जनालाई मन्त्री बनाउन मात्रै गठन नभएको बताएका छन् । उनले मुलुकमा स्थिरता र सुशासनका लागि अहिलेको सरकार गठन भएको र त्यसै अनुसार काम गरिरहेको बताए । 

‘अहिलेको सरकार दुई/चार जनालाई मन्त्री बनाउनमात्रै गठन भएको होइन,’ बुधबार गृहजिल्ला कञ्चनपुरको महेन्द्रनगरमा कांग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री लेखकले भने, ‘निश्चित उद्देश्य लिएर सरकार गठन भएको हो, त्यसै अनुसार काम अगाडी बढिरहेको छ ।’ 

उनले तीन-तीन महिनामा विश्वासको मत लिनुपर्ने, प्रधानमन्त्रीले सपथ लिन नपाउँदै अर्को सरकार गठनको तयारी हुने लगायतको अस्थिरताको अन्त्यका लागि अहिलेको समीकरण बनेको दाबी गरे।

यस्तो खालको अस्थिरताले विकास निर्माणदेखि सुशासन तथा शान्ति सुरक्षा लगायतका क्षेत्र समेत प्रभावित भएको बताए । उनले सुशासन र शान्ति सुरक्षा अहिलेको सरकारको प्रमुख प्राथमिकता भएको बताए । 

उनले पछिल्लो समय लोकतन्त्रविरोधी गतिविधि बढेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएको बताए । 

‘लोकतन्त्र अनुशासनको पद्धति हो, जनताले सेवा वितरणका पद्धति हो,’ उनले भने, ‘आफ्ना कुरा भन्न पाइन्छ, विरोध गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ, तर यसका नाममा अराजकता र कसैको चरित्र हत्या हुने गतिविधि गर्न पाइदैन ।’

उनले आलोचना र विरोध गर्दा संयमित र मर्यादित हुनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कमजोर गर्ने छुट कसैलाई नभएको उनले बताए । कांग्रेसले सबै दलहरुलाई मिलाएर अहिलेको व्यवस्थालाई सुदृढीकरण गर्दै लैजाने उनले बताए । लोकतन्त्रप्रतिको वितृष्णालाई कमजोर गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री लेखक प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृह प्रदेश आएका हुन् । मंगलबार र बुधबार दुईदिन नौ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग यस क्षेत्रका शान्ति सुरक्षाको अवस्था र अब गर्नुपर्ने योजना लगायत विषयमा छलफल हुने बताइएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully