‘सार्वभौम देशको प्रधानमन्त्री जता अनुकूल हुन्छ, त्यतै भ्रमणमा जान स्वतन्त्र छ’

‘अराजकता लोकतन्त्रका लागि चुनौती’

कार्तिक ३०, २०८१

कान्तिपुर संवाददाता

”The prime minister of a sovereign country is free to visit wherever he likes.”

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकको समापन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रविरोधी आवाज र अराजकता स्वीकार्य नहुनेमा समेत जोड दिएका छन् । 

नेपालको लोकतन्त्र सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । ‘लोकतन्त्र अपरिहार्य छ, यसको विकल्प छैन । डेमोक्रेसीको विकल्प बेटर डेमोक्रेसी हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बेटर डेमोक्रेसी भनेको अराजकताबाट आउँदैन, यो परिपक्व प्रणाली हो, संयमित प्रणाली हो र यस प्रणालीमा च्वाइस आ–आफ्ना हुन सक्छन् तर ती पूरा हुन्छन् भन्न सकिँदैन ।’

जनताको आवाज पनि लोकतान्त्रिक प्रणालीबाट अभिव्यक्त हुनुपर्ने उनले बताए । ‘जनताको आवाज लोकतान्त्रिक प्रणालीबाट प्रकट हुनुपर्छ, सडकमा मान्छेहरूले अराजकता खडा गरेर, अश्लील बोलेर, तथानाम बोलेर लोकतन्त्र परिमार्जित हुँदैन । म सोध्न चाहन्छु– यो प्रणाली भएन, कुन प्रणाली ल्याउन खोजेको हो ? खुलेर आउनुस् बहस गर्न । यो प्रणाली भएन भन्नेहरूलाई सोध्न चाहन्छु– कुन प्रणाली ल्याउन खोजेको हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानमा सानातिना कुरामा संशोधन गरौंला तर आधारभूत संघीय लोकतान्त्रिक गणतन्त्रमा संशोधन हुँदैन । संविधान फाल्ने भन्नु हुन्छ, च्यात्नु हुन्छ, यो त हामी देखिराख्या छौं । एक प्रति च्यातेर संविधान च्यातिँदैन । म सचेत गराउन चाहन्छु, संविधान भनेको नेपालीले लडेर ल्याएको उपलब्धिको समष्टि हो, त्यो च्यातिँदैन, च्यात्न दिइँदैन, हामी छौं यहाँ ।’

प्रधानमन्त्री ओलीले जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था र गणतान्त्रिक संविधानप्रति आफू प्रतिबद्ध रहेको पनि बताए । उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने स्पष्ट पारे । ‘हामीले अलिकति बढी बलिदान, दुःख, कष्ट गरेका छौं, माया लाग्छ । खुलेर भन्न चाहन्छु, डेमोक्रेसी तलमाथि हुन दिइन्न । गणतन्त्र संघर्ष गरेर नेपाली जनताले नागरिक सर्वोच्चताको प्रणाली स्थापना गरेका हौं । हरेक नागरिक अहिले सर्वोच्च छ, हरेक नागरिक सार्वभौम छ, शक्तिका स्रोत जनता हुन्, अरू कोही होइन । एउटा व्यक्तिले दिएको संविधान होइन, हामी प्रणालीबाट ल्याएको संविधानका कुरा गर्दै छौं । मान्छे मन पर्‍यो कि परेन भन्ने होइन, लोकतान्त्रिक प्रणालीमा एउटालाई मन नपरेको नेता चुनिन्छ ।’

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि मुलुकको पूर्वाधार विकास र ‘कनेक्टिभिटी’ लगायतका क्षेत्रमा काम गरिएको ओलीको भनाइ थियो । ‘लोकतान्त्रिक गणतन्त्र आइसकेपछि, २०७२ को संविधान आइसकेपछि लोकतान्त्रिक प्रणाली, जनताबाट निर्मित संविधानबाट सञ्चालित हुन थालेपछि देशले प्राप्त गरेका उपलब्धि पहिले त पूर्वाधार हेर्नुपर्‍यो, पूर्वाधारबिना देश विकास हुन सक्दैन । सडक र हवाई कनेक्टिभिटी, सञ्चार, विद्युत् पूर्वाधारमा ध्यान दिइयो । यो पूर्वाधार लगभग ९८ प्रतिशत जनतामा पुगेका छन्,’ उनले भने ।

नेपालमा संवैधानिक स्थिरता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले संविधान जारी भएको १० वर्ष पुगेपछि संविधानको मूल्यांकन गर्ने व्यवस्था रहेको र सोहीअनुसार संविधान संशोधनको विषय अगाडि सारिएको बताए । ‘हामीले संविधानको मूल्यांकन गर्छौं भनेका छौं । संविधान, प्रणाली र हाम्रा सम्पूर्ण उपलब्धि, कमीकमजोरी आदिको संवैधानिक व्यवस्थागत हिसाबले मूल्यांकन गर्ने अवधि भनेको १० वर्ष हो भन्ने संविधानमै व्यवस्था गरेका छौं । संविधानमा यो व्यवस्था हामीले गरेको हो,’ उनले भने । 

पछिल्लो समय भएका उपलब्धिको उचित मूल्यांकन नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, ‘हाम्रो देशका उपलब्धि किन नदेख्ने ? पञ्चायती व्यवस्था हुँदा के यो दुनियाँमा अगाडि बढ्न अरूलाई आशीर्वाद थियो ? तथास्तु भनेका थिए, शिव, महादेश, विष्णुले अरू संसारभरिलाई ? अनि हाम्रो देशलाई अविकसित रहेस् भनेर श्राप दिएका थिए र ? शासकहरूले नै गर्दा होला नि त । राजतन्त्रले उधुम गर्ने भए २४० वर्ष शासन गरेकै थिए । राणाहरूले उधुम गर्ने भए १०४ वर्ष शासन गरेकै थिए । पञ्चायतले गर्ने भए त ३० वर्ष गरेकै थिए,’ उनले भने । ती व्यवस्थाले उल्लेख्य विकास नगरे पनि तिनको अवमूल्यन भने आफूले नगर्ने ओलीको भनाइ थियो ।

ओलीले सुशासन र विकास सरकारको प्रमुख रोडम्याप रहेको बताए । सत्तारूढ कांग्रेससँगको सहमतिअनुसार आफ्नो प्रधानमन्त्रीको कार्यकाल १८ महिना मात्र बाँकी रहेको उल्लेख गर्दै उनले सुशासनसहित काम गर्ने बताए । ‘यो अवधिमा म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न । होसियार भए हुन्छ, बदमासी गरे पुलिसले छानबिन गर्छ । म आफ्नो काममा हुन्छु । अदालतले पक्राउ पुर्जी दिन्छ, प्रहरीले अनुसन्धान गर्छ । प्रहरीको काम म गर्दिनँ, जो कोही होस्, गल्ती गर्ने जान्छ,’ उनले भने ।

रास्वपा सभापति तथा पूर्वगृहमन्त्रीमाथि सहकारी ठगीमा भइरहेको अनुसन्धानका विषयमा प्रधानमन्त्री ओलीले विधिसम्मत ढंगले अनुसन्धान भइरहेको बताए । उनले लामिछानेले सहकारी रकम ठगी गरेको आफूलाई सुरुमा विश्वास नलागेको बताए । ‘मलाई साँच्चै रविले के–के गरेको छ, विश्वास त के आशंका पनि थिएन । यत्रो पूरै वासिङ मेसिनमा पनि ३ पल्ट धोएको जस्तो कुरा गर्दा रहेछन् । मैले के ठान्ने ?’ उनले भने । संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा पनि आफूले बनाउन हुन्न भनेको तर रवि आफैंले केही छैन भनेर सार्वजनिक रूपमा बोलेको ओलीले बताए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र लामिछाने नै बनाउन तयार भएपछि समिति बनाउन आफूले पनि ‘हुन्छ’ भनेको उनले बताए । 

समितिले चार जनालाई सहकारी ठगीमा संलग्न रहेको र कारबाहीका लागि तोकेर भनेपछि अहिले कारबाही प्रक्रिया अगाडि बढेको ओलीले बताए । प्रतिवेदनले उल्लेख गरेअनुसार छानबिन, अध्ययन सुरु भएपछि गिरफ्तार र कारबाही गर्नुपर्ने अवस्था आएको उनले बताए । अदालतको पक्राउ पुर्जीअनुसार कारबाही अगाडि बढेको अवस्थामा लामिछानेलाई पक्राउ गरिएपछि अदालतलाई समेत प्रभावित गर्ने प्रयास भइरहेको ओलीले बताए । लामिछाने हाल सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा हाल प्रहरी हिरासतमा रहेका छन् ।

अबको १८ महिनापछि भने सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधामन्त्री हुने ओलीले दोहोर्‍याए । देउवाको नेतृत्वमा नै २०८४ को निर्वाचन हुने उनले स्पष्ट पारे । वर्तमान सरकार गठनपछि उल्टो बाटोमा हिँडेको नेपालको राजनीति सुल्टो बाटोमा हिँड्न थालेको उनको तर्क थियो । ‘नेपालमा अस्थिरता र राजनीति सुल्टो बाटोमा नहिँडेर उल्टो बाटोमा गएका थिए, स–साना दलहरूले सत्ताका लागि च्याँखे थापेका थिए । अब त्यस्तो अवस्था अन्त्य भएको छ,’ उनले भने ।

ओलीले सार्वभौम देशको प्रधानमन्त्री जता अनुकूल पर्छ, त्यतै भ्रमणमा जान स्वतन्त्र भएको बताए । उनले चीन भ्रमणको तयारी गरिरहेको प्रसंगमा सोधिएको प्रश्नको जवाफमा भने, ‘हाम्रा दुई महान्, विशाल छिमेकी छन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । चीन जाँदा भारतसँग सम्बन्ध बिग्रिँदैन, बिग्रिने कारण छैन ।’ अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्रीलगायत थुप्रै प्रतिनिधिसँग भेट गरेको पनि उनले बताए । छिमेकीसँगका सम्बन्धहरू गहिरा र प्राग् ऐतिहासिक भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुसार प्रदेशलाई अधिकार दिने बताएका छन् । प्रधानमन्त्री ओलीले प्रदेशहरूले संविधानअनुसारको अधिकार पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नमा भने, ‘अब कानुन बनाउँछौं । यथोचित अधिकार पाउने गरी कानुन बन्छन् ।’ प्रदेशका मुख्यमन्त्रीहरूले विचार र उत्साहले काम गर्नुपर्ने बताए । महात्मा गान्धीको उदाहरण दिँदै प्रधानमन्त्रीले भने, ‘मुख्य कुरा विचारको हो । महात्मा गान्धीसँग न त बन्दुक थियो, न त सन्दुक । विचार थियो । अधिकार मात्रै होइन, विचार र उत्साहले काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि सरकारले कुनै प्रयास अगाडि नबढाएको तर सार्वजनिक रूपमा अनावश्यक चर्चा चलिरहेको बताए । कुनै पनि कानुन बन्नुपर्ने भए संविधानअनुसार बन्ने पनि उनले स्पष्ट पारे । ‘संविधानअनुसार देश चल्छ । संविधानअनुसार कानुन बन्छ । संविधानअनुसार कहिले औचित्यपूर्ण ढंगले अध्यादेश ल्याउनुपर्ने हुन्छ । दल त्यागसम्बन्धी कानुन रिक्त छ, नियमावली मात्रै छ । नियमावलीको भरमा चलेको छ । कानुन त रिक्त हुनु हुँदैन, तसर्थ केही न केही गर्नुपर्छ, अहिले गर्नु वा पछि गर्नु,’ उनले भने । 

कांग्रेस र एमालेको वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको सहमति गरेको तर दल फुटाउने अध्यादेश ल्याउने कुरा नगरेको उनले बताए । ‘अध्यादेश ल्याउँछु भनेर कांग्रेस र एमालेले भनेको छैन । प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन भन्दै विपक्षी ज्ञापनपत्र दिन आएका थिए । उनीहरूलाई के त्रास छ भने अध्यादेश आउँछ । तर, दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु छैन,’ उनले भने, ‘एमाले दोस्रो दल हुँदा नै प्रधानमन्त्री भएकै छ भने राजनीतिक दल विभाजन गर्ने अध्यादेश ल्याएर पहिलो दल बन्न आवश्यक छैन ।’

प्रधानमन्त्रीले ३८ किलो सुन काण्डको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाए । ‘गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिमा अप्ठ्यारो पर्ने भएर हो कि ? मलाई केही लिनु–दिनु छैन, प्रतिवेदन म सार्वजनिक गर्छु ।’ 

ओसारपसार गर्ने र गराउनेले नै ३८ किलो सुन खोइ भन्दै सोध्ने गरेको ओलीको आरोप थियो । उनले भने, ‘पहिला म प्रधानमन्त्री हुँदा नै ३८ किलो सुन पास भएको रहेछ, सबै कुरा डाइजेस्ट भएर फेरि आफ्नो धन्दा चालु थियो । मैले त्यसको खोज अध्ययन गरें । दोषीलाई कारबाही गरें । पछि ३८ किलो सुन खोइ भने ?’ कारोबारी र भरियालाई पक्रेर कारबाही अघि बढाउनेलाई नै प्रश्न गर्न लागिएको पनि ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीसँग कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले संवाद गरेका थिए ।

कान्तिपुर कन्क्लेभ

कान्तिपुर

Link copied successfully