काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा मंगलबार भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका थिए । ऊर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल-भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिए ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएको मन्त्रीको भनाइ उदृत गर्दै भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जाविज्ञ प्रबल अधिकारीले जनाए ।
भारतीय मन्त्रीसँगको भेटमा नेपालका ऊर्जामन्त्री खड्कासँगै नेपाली प्रतिनिधिमण्डल तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।
