काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेले कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धरलाई सिफारिस गरेको छ । आगामी मंसिर १६ मा आयोजना हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा एमालेले मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन् ।
कीर्तिपुरको मेयरमा एमालेले केन्द्रिय सदस्यसमेत रहेका मानन्धरलाई अगाडि सारेको हो ।
नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।
