अर्यालको पदावधि एक वर्ष बाँकी, पद बहाली हुने नहुने अनिश्चित
काठमाडौँ — भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसहित १० जनालाई विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू खुसीप्रसाद थारू तथा रितेन्द्र थापाको बुधबार बसेको इजलासले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ भने भ्रष्टाचारमा दोषी देखिएको ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा असार ९ मा मुद्दा दायर गरेको थियो ।
मुद्दा परेको ६ महिनाभित्र सकिसक्ने विशेष अदालतको अभियानअन्तर्गत ४ महिना ५ दिनमा यो मुद्दाको फैसला भएको छ । भ्रष्टाचारका मुद्दा लामो समय लम्बिने विगतको अभ्यासलाई तोड्दै विशेषले गत वर्षयता ६ महिनाभित्र मुद्दा फर्छ्योट गर्ने अभियान लिएको छ ।
द्रुत फैसलाले सफाइ पाएका निलम्बित मुख्यसचिव अर्यालको पदावधि अझै एक वर्ष बाँकी छ । सफाइ पाएपछि अर्यालको पद बहाली हुने नहुने भन्ने अड्कलबाजी सुरु भएको छ । मुख्यसचिवमा हाल एकनारायण अर्याल छन् । ‘सरकारले मुख्यसचिवका रूपमा वैकुष्ठजीलाई नै लग्न चाहे एउटा कुरा हो, तर उहाँ निलम्बनमा परेपछि त्यो पदमा दुई व्यक्ति आइसकेकाले स्वतः पदस्थापना भने हुन सक्दैन,’ कानुनविद् माधवप्रसाद पौडेलले भने ।
निलम्बित अवस्थामा अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगको सचिवालयमा मुख्यसचिव सरहको सुविधा पाउने गरी विशेष अधिकृतको पद सिर्जना गरी सरुवा गरेको थियो । कानुनअनुसार अर्यालको पदस्थापना हालका लागि त्यहीं हुने पौडेलले बताए ।
२०६३ मा भोजराज घिमिरेलाई मुख्यसचिव नियुक्त गर्नुअघिका मुख्यसचिव लोकमानसिंह कार्कीलाई पनि निलम्बन गरी सरकारले राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको विशेष अधिकृतको पद सिर्जना गरेर लगेको थियो ।
विशेषले भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका निर्देशक गणेशविक्रम शाही, रवीन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्रालि कम्पनी र त्यसका निर्देशक केशव शर्मालाई पनि सफाइ दिएको छ ।
