काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्री नवलकिशोर साह सुडीले कार्यभार सम्हालेपश्चात् एक सय दिनको अवधिमा हासिल भएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गरेका हुन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा असार ३१ देखि कार्तिक ६ गतेसम्मको कार्य प्रगति सार्वजनिक गरिएको हो ।
मन्त्रालयको कार्य प्रगतिको जानकारी दिंदै मन्त्री साह सुडीले वर्षाले गरेको क्षति, बाढी र विपदमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको संरक्षणलाई विशेष प्राथमिकता दिएको पनि बताए ।
संरक्षण विषयगत क्षेत्रबाट यस अवधिमा १ हजार १ सय ६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको, १ हजार ३ सय २५ महिला र ९ सय ३९ बालिका एवं १ सय ८९ जना बालकलाई आपतकालीन सेवा प्रदान गरेको प्रगति विवरणमा उल्लेख छ ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको र देशभर हराएका १ हजार ८ सय ८४ बालबालिकाको खोजतलास गरी फेला परेका १ हजार ५ सय ५९ जनालाई परिवारमा पुनर्मिलन गराइएको पनि मन्त्रालयले दाबी गरेको छ ।
महिला समुत्थान परियोजनामार्फत निर्माण हुने मंगला साहना दीर्घकालीन पुनर्स्थापना गृहको करिब ३० करोड लागतमा लैङ्गिक हिंसा पीडितहरूको आश्रय तथा सेवाका लागि पुनर्स्थापना केन्द्र निर्माण हुने तयारीमा रहेको प्रगति विवरणमा उल्लेख छ । त्यस्तै सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा संघीय मन्त्रालयको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण कार्य सुरु भएको पनि मन्त्रालयले जनाएको छ ।
