लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको छ : श्रेष्ठ 

'हिजो प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने प्रतिगामी कार्यलाई असफल बनायौं, आज पनि त्यस प्रकारको खतरा शून्य भइसकेको छैन'

कार्तिक १०, २०८१

कान्तिपुर संवाददाता

Democracy is being attacked from different angles: Shrestha

काठमाडौँ — माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । उनले विगतमा झैं प्रतिनिधिसभा विघटनको खतरा बाँकी नै रहेको पनि बताए ।

'आज विभिन्न कोणबाट लोकतन्त्रमाथि आक्रमण भइरहेको छ,' माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारीसभामा श्रेष्ठले भने, 'लोकतन्त्रमाथि प्रहार भइरहेको छ र अपरहण गर्ने कुचेष्टा जारी छ ।'

लोकतन्त्रमाथि प्रहार गर्नेहरूले असंवैधानिक रूपमा विगतमा प्रतिनिधिसभा विघटन गरेझैं त्यो खतरा अहिले पनि कायम रहेको श्रेष्ठको भनाइ थियो । 'हिजो प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने प्रतिगामी कार्यलाई असफल बनायौं । आज पनि त्यस प्रकारको खतरा शून्य भइसकेको छैन,' श्रेष्ठले भने, 'ऐतिहासिक परिवर्तनका उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्नुछ ।'

प्रतिनिधिसभा विघटनलगायतका कार्य हुनबाट रोक्नुपर्ने श्रेष्ठको भनाइ थियो । उनले समाजवाद उन्मुख समावेशीतालाई रक्षा गर्नुपर्ने पनि बताए । 

राजनीतिक उपलब्धिसँगसँगै देशले आर्थिक विकास र समृद्धिको अपेक्षा गरेको उनको भनाइ थियो । उत्पीडित वर्ग र समुदायलाई राजनीतिक अधिकार दिएको उल्लेख गर्दै उनले अब शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटोघाटो लगायत आमजीवनका आधारभूत आवश्यकता पूर्ति गरेर समृद्ध नेपाल बनाउने अबको केन्द्रीय कार्यभार रहेको बताए । 

राजनीतिक व्यवस्थालाई माध्यम बनाएर सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी रहेको श्रेष्ठले बताए । 'शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले सरकार, सदन र सडकको मोर्चालाई संयोजन गरेर राष्ट्रिय कार्यभार पूरा गर्न अगाडि बढ्नुपर्नेछ,' उनले भने ।  

कान्तिपुर

Link copied successfully