रवि र छविलाई संगठित अपराधमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही अदालतको अनुमति

१२ जनालाई पक्राउ पुर्जीसहित अनुमति दिएको स्रोतको दाबी, रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी

कार्तिक ८, २०८१

घनश्याम गौतम

Rupandehi court's permission to arrest and investigate Ravi and Chabhi for organized crime

बुटवल — सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ ।

अदालतले राई, जोशी र लामिछानेसहित अन्य १२ जनालाई पक्राउ अनुमति दिएको स्रोतको दाबी छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो । पोखरा प्रहरी हिरासतमा रहेका छवि र रविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै ७ दिनको म्याद दिएको छ ।

छविलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान गराएर पोखरा पठाइएको छ । प्रहरी स्रोतका अनुसार रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी भइरहेको छ । रविलाई शुक्रबार ल्याउने तयारी भएपछि प्रहरी र सरकारी वकिलको टोलीले बिहीबारदेखि नै बुटवलको सुप्रिम बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको सम्बन्धमा अनुसन्धान र बयानका लागि तयारी गरिरहेको छ । दुवै कार्यालयको टोलीले तयारी गरिरहेको स्रोतले बताएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नामबाट २ करोड ५० लाख रुपैयाँ र रविका नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ ।

त्यस्तै जिबी, कुमार रम्तेल, भूपेन्द्रबाबु राईसहित गोर्खा मिडियाकै नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा सुप्रिमबाट गोर्खा मिडियामा गएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएको देखिएको छ । रकम अपचलनमा संलग्न रहेको देखिएपछि यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक जिबी राई, भूपेन्द्रबाबु राई, छविलाल बञ्जाडे जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे चापागाईं, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो । तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा छन् । जिबी, भूपेन्द्र, सागर फरार छन् । दुर्गा, दीपेश र रोशनीसहित ६ जना धरौटीमा छुटेका थिए । 

Rupandehi court's permission to arrest and investigate Ravi and Chabhi for organized crime

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully