काठमाडौँ — वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्त्वपूर्ण रुपमा उठाउने बताएका छन् ।
जलवायु परिवर्तनबाट पीडित नेपाललाई न्यायका लागि अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ मा नेपालको सहभागिता महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
बुधबार चन्द्रागिरीमा जलवायु परिर्वतन व्यवस्थापन महाशाखाद्वारा आयोजित कोप सम्मेलनमा सहभागीलाई कसरी प्रस्तुत गराउने भन्ने बिषयको तालिममा मन्त्री शाहीले जलवायु परिर्वतनको सम्मेलन एक महत्त्वपूर्ण मञ्च हुने भन्दै नेपालले पर्याप्त तयारीका साथ प्रस्तुत हुनुपर्ने बताए ।
मन्त्री शाहीका अनुसार यसपटकको कोप सम्मेलनमा बिशेष छलफल हुने जलवायु बित्तको बिषय नेपालका लागि विशेष महत्वको छ ।
कोप २९ लाई नै लक्षित गरी कार्तिक ३ र ४ गते मन्त्रालय र साथसाथै नामक संस्थाको संयुक्त आयोजनामा मुगुको रारामा कोपको पूर्व तयारी जलवायु परिर्वतन कार्यशाला भएको थियो । विभिन्न जलवायुविद्, कर्णालीका सबै जिल्लाका जनप्रतिनिधिसहित भएको कार्यशालाले ५ बुँदे कर्णाली घोषणापत्र समेत जारी गरेको थियो ।
मन्त्री शाहीले त्यसका निष्कर्ष र सुझाव आगामी विश्व जलवायु सम्मेलन कोप २९ का लागि महत्वपूर्ण हुने बताए ।
