माओवादी अध्यक्ष दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेता छेन् गाङबीच भेटवार्ता

अध्यक्ष दाहालले भने- 'नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन हुनुपर्छ'

कार्तिक ३, २०८१

कान्तिपुर संवाददाता

Meeting between Maoist Chairman Dahal and Chinese Communist Party leader Chen Gang

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् ।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए ।

नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै दाहालले सन् २०१९ को उनको भ्रमण ऐतिहासिक रहेको स्मरण गराए।

सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा समझदारी भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं । ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’ 

नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताए ।

उनले चीन र नेपालबीचको भौगोलिक अवस्थिति प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताए । 

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनुपर्ने बताए । पहिलोपटक नेपाल भ्रमणमा आएका उनले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताए ।

चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्व दिने बताए। चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीका जुनसुकै नेताले पनि भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गर्ने गरेकाले चिनियाँ जनताको विश्वास बढ्दै गएको बताए । 

भेटमा नेपालस्थित चिनियाँ राजदूत छेन् सोङ्गलगायत नेताहरूसहित माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सहभागी थिए । 

कान्तिपुर

Link copied successfully