उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन आयोगको निर्देशन

कार्तिक १, २०८१

कान्तिपुर संवाददाता

Commission's instructions to give preference to women candidates in the by-elections

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । 

आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । 'कानूनमा यस्तो अवस्थाको प्रष्ट व्यवस्था छैन । जसकारण कानूनको भावनाबमोजिम उपनिर्वाचन हुने स्थानीय तहमा बहाल रहेको पदमा पुरुष भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन दिएको हो,' उनले भने । 

स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा  उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुई मध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा त्यस्तो व्यवस्था अनिवार्य छैन । 

आयोगले कानूनको अष्पष्टता रहेको अवस्थामा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन जारी गरेको आयोगका सूचना अधिकारी घिमिरेले बताए । 

कान्तिपुर

Link copied successfully