सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौलाविरुद्ध सुनुवाइ समितिमा दुई उजुरी 

आश्विन २९, २०८१

कान्तिपुर संवाददाता

Recommendation to the Supreme Court Judge Two complaints against Niraula in the hearing committee

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार सार्वजनिक उजुरी आह्वान गरिएका समय सीमा सकिँदासम्म सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध मात्र उजुरी परेको हो । 

सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्ले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले असोज १५ मा दुवैविरुद्ध सार्वजनिक सूचना तथा उजुरी आह्वान गरेको थियो । १० दिनको समय दिएर सार्वजनिक सूचना तथा उजुरी आह्वानको म्याद मंगलबार सकिएको छ । 

समिति सचिवालयका एक अधिकारीले उजुरीबारे भने, 'दुवैजनाविरुद्ध सार्वजनिक सूचना तथा उजुरी आह्वानको समय आज सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस हुनुभएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेविरुद्ध सार्वजनिक सूचना तथा उजुरी आह्वान गरिएकोमा निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन् भने पाण्डेविरुद्ध उजुरी परेका छैनन् ।' 

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशमा कार्यरत छन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।

निरौलाले विगतमा गरेका फैसलालाई जोडेर उजुरी परेको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ । 'उहाँले विगतमा गरेका फैसलालाई जोडेर र अन्य केही कुरा उल्लेख गरेर उजुरी परेका छन्,' समिति सचिवालयले भन्यो ।

न्यायाधीशमा सिफारिस व्यक्तिविरुद्ध सार्वजनिक सूचना तथा उजुरी दिने समय सकिएपछि सुनुवाइ समिति बैठकले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि सिफारिस व्यक्तिलाई समितिमा बोलाएर अनुभव तथा कार्ययोजना प्रस्तुत गर्न लगाउने र उजुरीका सम्बन्धमा प्रश्न गर्नेछ । 

सुनुवाइ समिति सचिवालयका अनुसार सिफारिस भएका दुवै न्यायाधीशको सुनुवाइ तिहार पहिले नै हुनेछ ।

न्याय परिषद्को असोज ११ को बैठकले निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

कान्तिपुर

Link copied successfully