काठमाडौँ — अन्तरव्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष तीयान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो स्वीट्जरल्यान्डको जेनेभामा भेटवार्ता भएको हो । भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
दुई देशका संसदीय प्रतिनिधिमण्डलबीचको भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल-चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताएका थिए । दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालले बताएका थिए ।
सन् २०२२ मा चिनियाँ जनकंग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसद्को सहकार्यले एक अर्काका अनुभव आदानप्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताएका थिए । नेपालको विकासमा चीनको सहयोग रहँदै आएको भन्दै दाहालले आगामी दिनमा अझै सहयोगको मात्रा बढ्ने आफूहरूले विश्वास लिएको उल्लेख गरेका थिए । उनले भनेका थिए, 'नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्य लिएको छ । यस लक्ष्यलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन मित्र राष्ट्रहरूको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको छ । यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीलाई विश्वास छ ।'
चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तीयान सुइजनले चिनियाँ राष्ट्रिय जनकंग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए । दुई देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताएका थिए ।
चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्ने बताएका थिए । उनले बीआरआईमार्फत सडक, रेल्वे लगायतका पूर्वाधार विकासका योजनाहरूमा सहयोग गर्न चाहेको बताएका थिए । भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
