'एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छु, त्यसमा अन्यथा केही पनि छैन । मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ । यो भवन ९ रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी निर्माण हुनेछ ।'
काठमाडौँ — एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएर भवन निर्माण गरिदिने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै विपद्को सामना गर्ने भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेलाई केन्द्रीय कार्यालय निर्माण गरेर दिनका लागि व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दिएका छन् । भवन निर्माण पनि आफूले नै गरेर दिने मीनबहादुर गुरुङले बताएका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणका लागि शिलान्यास गरेपछि मीनबहादुर गुरुङले एमाले मुख्यालय भवन अत्याधुनिक र सुन्दर रूपमा निर्माण गरेर दिने प्रतिबद्धता व्यक्त गरे ।
गुरुङले आफूलाई विश्वास गरेर एमालेले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने अवसर दिएको भन्दै धन्यवाद दिएका थिए । आफू एमालेनिकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।
व्यवसायी गुरुङले एमाले केन्द्रीय कार्यालय भवन ९ रेक्टर स्केलको भूकम्पलाई पनि धान्ने गरी निर्माण गरेर २०८२ सालको दसैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौँ । एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छुँ, त्यसमा अन्यथा केही पनि छैन । मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ,' गुरुङले भने, 'यो भवन ९ रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी निर्माण हुनेछ । सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौँ भन्ने प्रतिवद्धता जाहेर गर्दछौँ । यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।’
व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए ।
२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका–१४ मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय भत्किएको थियो । त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा एमालेको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको छ । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढी पस्ने गरेको छ ।
