राजनीतिक दल बलिया हुनसके लोकतन्त्र र राज्य बलियो हुन्छ : महासचिव पोखरेल

'हामीलाई आधुनिक नेपालको निर्माणको सन्दर्भमा एउटा आधुनिक कार्यालय भवनको जुन खाँचो थियो । त्यो खाँचोलाई मीनबहादुर गुरुङजी, सावित्री गुरुङजीको तर्फबाट दानका रुपमा उपलब्ध गराउने अठोट गर्नुभएको छ ।'

आश्विन २५, २०८१

कान्तिपुर संवाददाता

If the political party is strong, the democracy and the state will be strong: General Secretary Pokharel

काठमाडौँ — एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र बलियो हुनका लागि राजनीतिक बलहरू हुनुपर्ने बताएका छन् । राजनीतिक दलहरू बलियो हुनसके मात्रै लोकतन्त्र र राज्य बलियो हुने पोखरेलको भनाइ छ ।

एमाले केन्द्रीय कार्यालय भवन निर्माणको शिलान्यास कार्यक्रममा शुक्रबार महासचिव पोखरेलले राज्य बलियो बनाउन र जनतालाई अधिकार प्रयोग गर्नसक्ने बनाउन राजनीतिक दलहरू बलियो हुनुपर्ने बताए । ‘लोकतन्त्रमा राजनीतिक दलहरू समाजमा प्रतिनिधि संस्थाका रुपमा रहेका छन् । तिनीहरू बलिया हुनसके भने मात्रै लोकतन्त्र बलियो हुन्छ, राज्य बलियो हुन्छ । लोकतन्त्रमा राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्नसक्ने स्थिति बन्दछ,' पोखरेलले भने ।

आधुनिक नेपाल निर्माणको लागि एमालेलाई आधुनिक भवनको खाँचो रहेको र त्यसलाई व्यवसायी दम्पती मीनबहादुर गुरुङ र सावित्री गुरुङले पूरा गर्ने अठोट लिएको पोखरेलले बताए । 'हामीलाई आधुनिक नेपालको निर्माणको सन्दर्भमा एउटा आधुनिक कार्यालय भवनको जुन खाँचो थियो । त्यो खाँचोलाई मीनबहादुर गुरुङजी, सावित्री गुरुङजीको तर्फबाट दानका रुपमा उपलब्ध गराउने अठोट गर्नुभएको छ, संकल्प गर्नुभएको छ । त्यसका लागि म पार्टीको तर्फबाट उहाँहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु,' पोखरेलले भने, 'यो ठाउँमा एक वर्षभित्र आधुनिक कार्यालय बनाउने संकल्प लिएका छौँ ।'

एमाले केन्द्रीय कार्यालय भाटभटेनीका सञ्चालक गुरुङले १० रोपनी १४ आनामा निर्माण गरेर दिने भएका छन् । उक्त जग्गा र भवन गुरुङले एमालेलाई दान दिएका हुन् । उक्त भवन अत्याधुनिक र ९ रेक्टरसम्मको भूकम्प थेग्न सक्ने हुने गुरुङले बताएका छन् । २०८२ को असोजमा भवन निर्माण गरिसकेर एमालेलाई हस्तान्तरण गर्ने गुरुङले बताएका छन् । 

कान्तिपुर

Link copied successfully