काठमाडौँ — विमान परिचारक/परिचारिकको अवकाश उमेर ४५ वर्षबाट ५० वर्ष बनाउन सरकार तयार भएको छ । आन्दोलनमा रहेका क्याबिन 'क्रू' सँगको शनिबारको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अवकाशको उमेरहद संशोधन गर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।
विमान चलाउन अवरोध गरी आन्दोलनमा रहेका क्याबिन क्रू सदस्यहरूसँग शनिबार छलफलपछि मन्त्री पाण्डेले निगमलाई क्याबिन क्रू अवकाशमा जाने ४५ वर्षको उमेरहदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् । मन्त्री पाण्डेले क्याबिन क्रू मेम्बरहरूले आफूहरूमाथि भेद्भाव भएको, आफूहरूलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको र माग सुनुवाइ नभएको विषय राखेका थिए ।
उनीहरुका मागलाई सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको पाण्डेको भनाइ थियो । ‘उमेरहद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा । त्यसले मर्कामा परेको थियो । त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्नेकुरा राख्नुभयो । आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निस्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौँ । अदालतमा उहाँहरूको मुद्दाका विषयमा केही अन्तिरम आदेशहरू आएका छन्, त्यसको स्पष्टताका लागि उहाँहरूको भनाइ एउटा छ, निगमको भनाइ एउटा छ, स्पष्टताका लागि मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयसँग राय लिने, ४५ वर्षको उमेर हदलाई ५० वर्ष पुर्याउने कुरामा कुनै समस्या हुँदैन,' पाण्डेले भने, 'नेपालका सन्दर्भमा हाम्रो औषत आयु पनि बढेको अवस्था छ । उहाँहरूले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ । ४५ को उमेरहदलाई ५० मा पुर्याउने निस्कर्षमा पुगेका छौँ । त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ ।'
मन्त्री पाण्डेले उमेरहद ५० वर्ष पुर्याउने भनेपछि आन्दोलन गरेर नेपाल वायुसेवाका विमान उडान नै प्रभावित पार्ने क्याबिन क्रु काममा फर्किने भएका छन् । क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रबार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्द भएको थियो । जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए ।
निगममा कार्यरत परिचारिका/परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू आन्दोलनमा थिए ।
