काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई समान प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने श्रेषंठको भनाइ थियो ।
काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री संघ घोषणा कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए ।
‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । उनीहरूसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । कुनै एउटासँग घनिष्ट सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौं,' श्रेष्ठले भने, 'मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं । त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वभाविक रुपमा समनिकटताको आधारमा हुन्छ, दुवै देशसँग समानताको आधारमा हुन्छ । तर हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधिनता, स्वाभिमान र हितको पक्षमा हामी जहिले पनि बोल्छौं, अडान लिन्छौं ।'
नेपालले आफ्नो राष्ट्रिय हितको पक्षमा उभिँदा कुनै पनि देशले आफ्नोविरुद्धमा गतिविधि गर्यो भन्न नमिल्ने पनि श्रेष्ठको भनाइ थियो । 'त्यो देशले पनि आफ्नो सार्वभौमिता र राष्ट्रिय हितको पक्षमा त बोलिहाल्छ । त्यसकारण हाम्रो कुरा के हो भने हामी हाम्रो छिमेकीहरूसँग राम्रो सम्बन्ध अघि बढाउन चाहन्छौं । हामी अरु मित्र राष्ट्रहरूसँग पनि राम्रो सम्बन्ध अघि बढाउन चाहन्छौं,' उनले भने ।
नेपालको भूराजनीतिक अवस्थितिले संवेदनशीलता र चुनौति गम्भीर रहेको पनि श्रेष्ठको भनाइ थियो । 'हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, हामीले पञ्चशीलको मान्यतालाई अवलम्बन गर्ने, संयुक्त राष्ट्रसंघको बडापत्रलाई मूल आधार बनाउने, असंलग्नतालाई स्वीकार गर्ने र आफ्नो देशको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनु पर्दछ । यसलाई हामीले कन्द्रबिन्दुमा राखेर यसमा बिचलित नभई अरुसँग मैत्रीपूर्ण सम्बन्ध हामी राख्न चाहन्छौं,’ उनले भने ।
नेपालले सधै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको र आगामी दिनमा पनि त्यसबाट बिचलित हुन नहुने श्रेष्ठको भनाइ थियो ।
