नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता

आश्विन १७, २०८१

लक्ष्मी लम्साल

The Chinese Foreign Minister's consolation and commitment to support Nepal's floods

बेइजिङ — दुई सयभन्दा बढीको ज्यान जानेगरी हालै नेपालमा गएको भीषण बाढीपहिरोप्रति चीनले सान्त्वना व्यक्त गर्दै सहयोगको आश्वासन दिएको छ। बुधबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाली समकक्षी डा. आरजु राणा देउवालाई सान्त्वना सन्देश पठाएर यस्तो ऐक्यवद्धता जनाएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

‘नेपालमा गएको गम्भीर बाढीपहिरोमा परी ठूलो संख्यामा हताहती हुनुका साथै भौतिक क्षति समेत भएको थाहा पाएर स्तब्ध भएको छु, चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले उल्लेख गरेका छन्। उनले प्रकोपमा परेर ज्यान गुमाएकाहरूप्रति हृदयदेखि नै शोक व्यक्त गरेका छन्। मन्त्री वाङले मृतकका परिवार र घाइतेहरुलाई सान्त्वना दिएर सहयोगको प्रतिबद्धता जनाएका छन्।

पहाड र नदी जोडिएको छिमेकी भएको नाताले चीनले नेपालको आवश्यकता बमोजिम प्रकोप उद्धारमा सक्दो समर्थन र सहयोग प्रदान गर्ने इच्छा चिनियाँ परराष्ट्र मन्त्री वाङले व्यक्त गरेका हुन्।

यसअघि गत सेप्टेम्बरमा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महाभाका दौरान वाङले नेपालका प्रधानमन्त्री केपी शर्माओली सहित समकक्षी डा.राणासँग भेटेका थिए।

नेपाली प्रतिनिधि मण्डलसँगको सो भेटवार्तामा मन्त्री वाङले हिमाल र नदीले जोडिएका नेपाल र चीनको साझा नियति रहेको बताएका थिए । चीनले नेपाललाई आफ्नो छिमेक कूटनीतिमा सदैव महत्वपूर्ण स्थानमा राख्दै आएको भन्दै साझा भविष्यसहितको चीन–नेपाल समुदायलाई नजीक बनाउन, दुवै पक्ष मिलेर बीआरआई र अन्य सहयोगलाई प्रवर्द्धन गर्नका लागि चीनको ७५औं वार्षिकोत्सवलाई उपयोग गर्नुपर्ने उनले बताए ।

चिनियाँ संचारमाध्यमका अनुसार सेप्टेम्बर २६ तारिख प्रधानमन्त्री ओली नेतृत्वको टोलीसँग वाङ यीले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले सधैँ झैं सहयोग गर्ने, नेपालले आफ्नो राष्ट्रिय परिस्थितिअनुकूलको सफल विकासको बाटो पहिल्याउनुपर्ने र कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधिमा संलग्न हुन नेपालको भूमि प्रयोग गर्न नदिने नेपालको बारम्बारको प्रतिबद्धताको सराहना गरेका थिए।

चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका सबै अल्पविकसित मुलुकलाई शतप्रतिशत भन्सार महसुलमा शून्य शुल्क दिने चीनको निर्णयले थप नेपाली उत्पादनलाई चीनमा प्रवेश गर्न सहज हुने भन्दै चिनियाँ परराष्ट्रमन्त्री वाङले सन् २०२५ लाई 'नेपाल पर्यटन वर्ष' का रुपमा घोषणा गरिएकोमा स्वागत गरेका थिए।

लक्ष्मी

Link copied successfully