काठमाडौँ — पछिल्लो मनसुनजन्य विपदपछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित २२ जिल्लामा पछिल्लो विपदबाट ज्यान गुमाउनेको संख्या मंगलबार दिउँसोसम्म २ सय १९ पुगेको हो । विपद्बाट सबैभन्दा बढी मानवीय क्षति काभ्रे, ललितपुर र धादिङमा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काभ्रेमा ६५ जना, ललितपुरमा ४० र धादिङमा ३९ जनाले बाढी, पहिरो, डुबान र कटानजन्य प्रकोपमा परी ज्यान गुमाएका हुन् ।
काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुरमा ७, पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । यस्तै भक्तपुर र सोलुखुम्बुमा ५/५ जना, सिन्धुलीमा ३ जना, झापा, धनकुटा, महोत्तरी, रौतहट र रुपन्देहीमा २/२ जना, उदयपुर, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जनाको ज्यान गएको विपदसम्बन्धी प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख छ ।
विपद्मा परी २७ जना अझै बेपत्ता र १ सय ५६ जना घाइते भएका छन् । प्रहरीका अनुसार विपद्मा परेर काठमाडौंमा २, ललितपुरमा १०, पाँचथरमा ४, मोरङमा १, सर्लाहीमा १, पर्सामा १, काभ्रेमा ६ र सिन्धुपाल्चोकमा २ जना बेपत्ता छन् । विपदमा फसेका १२ हजार ५ सय ८४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय लगायतको सहयोगमा उद्धार गरिएको छ ।
पछिल्लो भारी वर्षापछि निम्तिएको विपदबाट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भने मानवीय क्षति भएन । बाँकी जिल्लामा जनधनको क्षति हुँदा विपद पछिको राहत तथा पुन:स्थापनामा पनि समस्या देखिएको छ ।
सरकारले विपद्जन्य खोज, उद्धार तथा व्यवस्थापनका लागि चाहिने बन्दोबस्ती र उद्धारकार्यलाई प्रभावकारी नबनाउँदा कतिपय स्थानमा अकल्पनीय जनधनको क्षति हुन पुगेको छ ।
![Flood death toll reaches 219 [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/death-reports-01102024125216-1000x0.jpg&w=1001&h=0)