काठमाडौँ — सर्वोच्च अदालतको फैसला आएसँगै ‘सिधा कुरा डटकम’ का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल गएका छन् ।
‘सिधा कुरा’ डटकममा 'डार्क फाइल' भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीबाट अदालतको अवहेलना भएको ठहर भएपछि प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगाना आइतबार केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका जेलर कृष्णबहादुर कटुवालले बताए ।
ढुंगानाले पनि अदालतको फैसलालाई सम्मान गर्दै आफूहरु कारागार चलान भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
प्रकाशक कँडेल र सम्पादक ढुंगानाले लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख छ ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले 'फेक अडियो' बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई आइतबार नै ३/३ महिना कैद सजाय सुनाएको हो । सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख छ । तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नै पर्ने फैसला गरिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो ।
'सिधा कुरा'ले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो । उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेलना मुद्दामा निवेदन दिएका थिए ।
