२०८० वैशाख ७ मा अकस्मात् ‘तरलता अभावले’ कारोबार बन्द गरिएको सूचना टाँसिएपछि मात्रै इमेज सहकारीको रकम अपचलन सतहमा आएको थियो, अध्यक्ष नेपाली भने त्यति बेलैदेखि श्रीमतीसहित सम्पर्कविहीन भएका थिए ।
काठमाडौँ र बागलुङ — सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् । बागलुङमा मुख्य कार्यालय रहेको इमेज सहकारीका अध्यक्ष नेपालीलाई इन्टरपोलको समन्वयमा भारतीय प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
मेयर नेपाली एमाले गण्डकी प्रदेश कमिटीका निलम्बित सदस्य हुन् ।
‘तरलता अभावले’ कारोबार बन्द गरिएको सूचना कार्यालयमा टाँस्न लगाएर इमेज सहकारीका अध्यक्ष नेपाली पत्नी छेलासहित २०८० वैशाखदेखि सम्पर्कविहीन थिए । बचत हिनामिनासम्बन्धी १ हजार ५ सय ४३ बचतकर्ताको जाहेरीका आधारमा प्रहरीले पहिलो चरणको अनुसन्धान सकेपछि नेपाली र पत्नी छेलासहित १३ जनाविरुद्ध २०८० असार २५ मा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अभियोगपत्रमा उनीहरूले सहकारीको १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६ सय ६८ रुपैयाँ ठगी गरेको उल्लेख छ ।
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले २०८० माघ १० मा नेपाली र पत्नी छेलाविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । ठीक ८ महिनापछि नेपाली समातिएका हुन् । नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राईले नेपालीलाई कूटनीतिक प्रक्रियाबाट नेपाल ल्याउने तयारी भइरहेको बताए । ‘नेपालीलाई स्वदेश ल्याउन प्रहरी प्रधान कार्यालयले शुक्रबार नै गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ,’ उनले भने ।
पीडित बचतकर्ताले सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएपछि गण्डकी सरकार र ढोरपाटन नगरपालिकाबाट कागजात संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो । मेयर नेपाली फरार भएपछि सहकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी डोरबहादुर परियारले सम्हालेका थिए । अनुसन्धानका क्रममा प्रहरीले कार्यवाहक अध्यक्ष परियारसहित ६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका र फरारसहित १३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो, जुन मुद्दा विचाराधीन छ । २०८० साउन ५ मा अदालतले दिएको आदेशबमोजिम कार्यवाहक अध्यक्ष परियारसहित ५ जना पुर्पक्षका लागि जेलमा छन् भने एक जना धरौटीमा छुटेका छन् । मेयर नेपालीले भने फरार रहेकै बेला सामाजिक सञ्जाल फेसबुक र विज्ञप्तिमार्फत आफ्नो नाउँमा १८ वटा घर र ४४ कित्ता जग्गा रहेको भन्दै ‘आफ्नो घरजग्गा बेचेर ऋण तिर्ने वातावरण मिलाइदिन’ सरकारसँग आग्रह गरेका थिए ।
बागलुङ नगरपालिका–२, हल्लनचोकस्थित इमेज सहकारी संस्थाको कार्यालयमा २०८० वैशाख ७ को बिहान अकस्मात् कारोबार बन्द गरिएको सूचना टाँसिएपछि मात्रै सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा रकम ठगी भएको विषय सतहमा आएको थियो । सूचनामा तरलता अभावका कारण वैशाख ६ को सञ्चालक समिति बैठकको निर्णयअनुसार केही समय सहकारीको कारोबार बन्द गरिएको उल्लेख थियो । सूचनामा हस्ताक्षर भने अध्यक्ष नेपालीको साटो कार्यवाहक अध्यक्षका रूपमा परियारले गरेका थिए । त्यसपछि नै अध्यक्ष नेपाली पत्नी छेलासहित सम्पर्कविहीन थिए । नगरपालिकामा भने नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहकको जिम्मेवारी दिएको पत्र भेटिएको थियो ।
नेपाली फरार भएपछि एमालेकै काठेखोला गाउँपालिका अध्यक्षसमेत रहेका डिलबहादुर कार्कीको संयोजकत्वमा इमेज सहकारीपीडित संघर्ष समिति गठन भएको थियो । सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्रारम्भिक अनुसन्धानमा इमेज सहकारीले बागलुङ सदरमुकामका साथै गलकोट, बुर्तिवाङ र पोखरा शाखामा गरेर १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।
अदालतमा पेस गरिएको अभियोगपत्रमा भने १ अर्ब ३० करोड ठगी भएको उल्लेख छ । नेपालीले बागलुङमै रहेको राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आईएमई बैंकको शाखाबाट ३५ करोड रुपैयाँ ऋणसमेत लिएको भेटिएको छ । नेपालीमाथि कृत्रिम ऋणी खडा गरेर बचत अपचलन गरेको अभियोगसमेत छ ।
संस्थाका नाममा जग्गा खरिद गर्ने भन्दै कृत्रिम जग्गा प्रविष्ट गरेर त्यसबापतको रकम हिनामिना गरेको समेत अभियोगपत्रमा उल्लेख छ । सहकारीको रकम दुरुपयोग गरेर बागलुङलगायतका विभिन्न स्थानमा घरजग्गा, महँगा सवारीसाधन खरिद गरेको अभियोग पनि उनीमाथि छ ।
२०६८ साउनमा दर्ता भएको इमेज सहकारीमा नेपाली स्थापनाकालदेखि नै अध्यक्ष थिए । ‘इमेज सहकारीमा देवकुमार नेपालीबाहेक कोही अध्यक्ष भएको मलाई जानकारीमा छैन,’ राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जीसीले भने । ०७४ र ०७९ का दुवै निर्वाचनमा ढोरपाटन नगरपालिकाबाट मेयरमा निर्वाचित हुँदा पनि नेपालीले सहकारीको नेतृत्व छाडेका थिएनन् । ०७४ को निर्वाचनमा माओवादीले टिकट नदिएपछि नेपाली एमाले प्रवेश गरेर मेयर भएका थिए । माओवादीमा लाग्नुअघि उनी नेकपा मसालमा आबद्ध थिए । मसालमा रहँदा पनि उनी आर्थिक अनियमिततामा मुछिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सहकारीको अध्यक्षलाई स्थानीय तहको चुनावमा उठ्न कानुनले रोक्दैन तर उम्मेदवार बनेपछि बचतकर्तालाई विवेकसम्मत मतदान गर्न अवरोध पुग्छ । सहकारीका अध्यक्षले बचतकर्तालाई आफ्नो पक्षमा मतदान गर्न दबाब दिन्छन् ।
‘निर्वाचन कानुनमा रहेको कमजोरीलाई टेकेर थुप्रैले चुनाव जितेका छन्, त्यसमध्येका एक नेपाली हुन्,’ थपलियाले भने, ‘पहिलेका कमजोरी र छिद्र हटाउन कानुन संशोधन गर्नुपर्छ ।’ कुनै संगठित संस्थामा आबद्ध रहेको र सहकारी, लघुवित्त, बैंकलगायत विभिन्न संस्थाको रकम हिनामिना गरेको र कालोसूचीमा परेको व्यक्तिले चुनावमा भाग लिन नपाउने गरी कानुन संशोधन गर्न आफूहरूले प्रस्ताव गरेको पनि उनले जानकारी दिए ।
नेपालीले राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आईएमई बैंकबाट पनि ३५ करोड रुपैयाँ ऋण लिएर अपचलन गरेका थिए । सहकारी र बैंकबाट लिएको रकमबाट उनले बागलुङ, कास्की र काठमाडौंमा घरजग्गा जोडेको पाइएको छ । नेपालीले सहकारी ठगेर आएको पैसाबाटै भक्तपुरमा किनिएको ५ कित्ता जग्गा पत्नी छेलाकी भाउजू कमला गिरीका नाममा २०८० वैशाख २७ मा पास गरेका थिए । भतिजी देवी नेपालीलाई ५ कित्ता जग्गा त्यही वैशाख २५ मा पास गरिदिएको भेटिएको थियो ।
अर्की भतिजी माया नेपालीलाई छेला र आफ्नो नाममा रहेको ३ कित्ता जग्गा वैशाख २८ मा पास गरिदिएका थिए । मेयर नेपालीले सहकारीका कार्यवाहक अध्यक्ष परियारका नाममा पनि २०७९ जेठ ४ मा जग्गा पास गरिदिएको भेटिएको छ । सहकारीकै ओमप्रसाद दर्जीले २०८० जेठ ४ मा छोरी सञ्जु नेपालीका नाममा तीन कित्ता, माया नेपालीका नाममा एक कित्ता जग्गा नामसारी गरेको पनि भेटिएको छ । सहकारी ठगेरै हात पारेको रकमबाट अरू सञ्चालक र कर्मचारीले पनि जायजेथा जोडेको अनुसन्धानबाटै खुलेको छ ।
सहकारीको रकम हिनामिना गर्नकै लागि उनले गैरबचतकर्ताका नाममा फर्जी खातासमेत खोलेको अनुसन्धानका क्रममा भेटिएको थियो । सहकारी ठगेर नेपाली भागेपछि गत वर्ष कात्तिक र मंसिरमा सहकारी बैंकले इमेज कार्यालय रहेको घर लिलामी गर्न सूचना निकालेको थियो । प्रक्रिया पुर्याएर घर बिक्री गर्न लागेको थाहा पाएपछि संघर्ष समितिले त्यसको विरोध गर्दै मालपोत नै घेराउ हालेको थियो । त्यसपछि लिलामी प्रक्रिया स्थगित भएको छ ।
इमेज सहकारीको कार्यालय अझै खुलेको छैन । दुई दशकदेखि बागलुङ बजारमा चिया पसल गरेर कमाएको पैसाले घर निर्माण गर्ने योजनासाथ इमेजमा बचत गरेको रकम हिनामिना भएको तुलसीराम गौतमले बताए । इमेजमा उनले ५० लाख रुपैयाँ बचत गरेका थिए । ‘सहकारीमा राखेको पैसाले घर बनाउने, छोराछोरी पढाउने योजना चकनाचुर भयो,’ गौतमले दुखेसो पोखे ।
