प्रधानमन्त्रीको न्युयोर्क भ्रमण सफल र फलदायी : मुख्य सल्लाहकार रिमाल  

'साइबरमा गरिने गलत सूचनाकोपछि लाग्नु गलत'

आश्विन १२, २०८१

जगदीश्वर पाण्डे

Prime Minister's New York visit successful and fruitful: Chief Advisor Rimal

न्युयोर्क — प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले ७९ औं ‌महासभा र समिट अफ द फ्युचरमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महासभालाई शुक्रबार राती सम्बोधन गरेपछि कान्तिपुरसँगको कुराकानीमा रिमालले भने,‘छोटो समयमै प्रधानमन्त्रीज्यूको भ्रमण सफल र फलदायी रह्यो ।’

उनले अरु समयमा जस्तो नभई यस पटक महासभाको साथसाथै समिट अफ द फ्युचर पनि भएको र दुवैमा प्रधानमन्त्रीले नेपालको तर्फबाट प्रभावकारी रुपमा सम्बोधन गरेको पनि उल्लेख गरे ।

उनले यसपटक कम विकसित मुलुकहरुको अध्यक्षको हैसियतमा नेपालका प्रधानमन्त्री ओलीले एउटा सत्र सञ्चालन गर्नुको साथै सम्बोधन गरेको बताए ।

रिमालले सम्बोधन, सत्र सञ्चालनदेखि न्युयोर्कमा यस पटक साइडलाइनमा महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ताहरु पनि सम्पन्न भएको बताए । उनले नेपालका दुई छिमेकीहरु भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीसँग साइडलाइनमा भएको भेटवार्ता महत्त्वपूर्ण रहेको प्रष्ट पारे ।

साथै, रिमालले पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफ, बंगलादेशका प्रमुख राजनीतिक सल्लाहकार युनुस मोहम्मद युनुस लगायतका सरकार प्रमुखहरु र अन्य भेटवार्ताहरु पनि महत्त्वपूर्ण भएको बताए ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको पनि जानकारी दिए । ‘अन्य मुलुकहरुको आआफ्नै भूराजनीतिक कारण थिए । तर हामी अध्यक्ष भएको र अरु मुलुकको विवादमा नपर्ने भएकोले पनि सार्कको विषयमा मात्र कुराकानी गर्यौं,’ उनले भने ।  

रिमालले प्रधानमन्त्रीले जलवायु परिवर्तनको विषयमा पनि बलियो प्रस्तुति दिएको प्रष्ट पारे । उनले भने,‘हामीले बढी कार्बन उत्सर्जन गर्दैनौं । यो प्राविधिक विषय भयो । प्रधाममन्त्रीज्यूले जलवायुमा हामीले नगरेका गल्तीको भागिदार हुनु पर्यो भन्ने कुरा राख्नु भयो ।’

साथै, नेपालले अहिलेको भूराजनीतिक परिस्थिति र द्वन्द्वमा कूटनीति र संवादलाई जोड दिनु पर्छ भन्ने विषय राखेको बताए । उनले प्रधानमन्त्रीले संवादको बाटोबाट तमाम समस्याको समाधान गर्नुपर्छ भन्ने कुरालाई पटक–पटक जोड दिएको उल्लेख गरे ।  

‘कूटनीति र संवादमा लाग्नु भनेको हामी तटस्थ बस्छौं भन्ने होइन । तर हामी असंलग्नतामा छौं । नेपाल ठीकलाई ठीक र बेठीकलाई बेठीक चाहिँ भन्छ,’ मुख्य सल्लाहकार रिमालले भने ।

उनले नेपालमा विस्तृत शान्ति सम्झौतापछि १८ वर्षमा संक्रमणकालीन न्यायको कानुन बनेको र त्यो कानुनपीडित केन्द्रित भएको उल्लेख गरे । उनले नेपालको द्वन्द्वदेखि संक्रमणकालीन न्यायसम्मको विषय विश्वलाई नै उदाहरणीय अवस्था बन्न सक्ने पनि प्रष्ट पारे ।

रिमालले महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा नेपाल शक्तिशाली छिमेकी मुलुक बीचमा सन्तुलन मिलाएर बसेको कुरा विश्वले बुझ्नुपर्ने उल्लेख गरेको जानकारी दिए । उनले भने,‘महासचिवज्यूले नेपाल संक्रमणकालीन न्यायलाई जुन हिसाबमा अघि बढाउनु भएको छ, त्यसको प्रसंशा गर्नुभयो ।’  

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully