सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ

आश्विन ११, २०८१

मातृका दाहाल

Devkumar Nepali, the mayor of Dhorpatan who absconded in cooperative fraud, was arrested from Delhi, India

काठमाडौँ — सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

उनलाई शुक्रबार नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।

उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । 

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । 

सम्बन्धित समाचार

ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न 'रेड कर्नर नोटिस'

ढोरपाटनका मेयर नेपालीले भने- 'सहकारीकै रकमले घरजग्गा किनेको हुँ, फिर्ता गर्छुु'

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully