काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका छन् । उनले अन्तर्राष्ट्रिय पदक प्राप्त भएको हिसावले यो वर्ष बिर्सिनै नसकिने वर्ष भएको बताए ।
बुधबार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ.एम. सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता समारोहमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताए ।
उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धन हुने बताए। खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको भन्दै उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने बताए ।
उनले भने, 'मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नै दुईवटा क्षेत्रमा मेरो विशेष रुपले, राजनीति र विकास निर्माणको क्षेत्र बाहेक दुईवटामा मेरो विशेष ध्यान थियो र अहिले पनि छ । एउटा, खेलकुद नै हो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, देशको विकास र समृद्धिको एउटा नयाँ यात्रा सुरु गर्ने, समाजमा अनुशासन र मर्यादा कायम गर्ने एउटा विधितिर समाजलाई लैजाने महत्वपूर्ण रणनीतिक क्षेत्र खेल क्षेत्र हो भन्ने मेरो बुझाइको कारणले मैले खेललाई उच्च प्राथमिकता दिँदै आएको छु । अर्को संस्कृतिको क्षेत्र हो।’
उनले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताए । उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्वपूर्ण प्रतियोगिताको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
